मदन आश्रित स्मृति दिवसमा १५४ जनाले रक्तदान गरे


भरतपुर, २५ चैत /मदन भण्डारी फाउण्डेसन चितवनले २६औँं मदन आश्रित स्मृति दिवसको अवसरमा सोमबार भरतपुरको चौबीसकोठीमा आयोजना गरेको रक्तदान कार्यक्रममा १५४ जनाले रक्तदान गरेका छन् । जसमा ३४ जना महिला र १२० जना पुरुष रहेको फाउण्डेसनका सचिव श्याम बिष्टले जानकारी दिनुभयो । बिष्टका अनुसार रक्तदातामध्ये ६८ जना पहिलो पटक रक्तदान गर्ने रहेका छन् ।
फाउण्डेसनका प्रदेश नंं. ३ का सचिव दीपक निरौलाले रक्त सङ्कलन झोला जिल्ला अध्यक्ष डा तिलचन्द्र भट्टराईलाई हस्तान्तरण गरी कार्यक्रमको शुभारम्भ गरिएको थियो । रक्तदान पूर्व फाउण्डेसनका बरिष्ठ उपाध्यक्ष तथा कार्यक्रम संयोजक शम्भु सुवेदीले तराईका बारा र पर्सामा हावाहुरीका कारण घाइते भएका बिरामी र जिल्लामा समेत रगतको अभाव भएपछि मदन आश्रितको स्मृतिमा रक्तदान कार्यक्रम राखिएको बताउनुभयो ।
एउटै समयमा रक्तदाताको चाप अधिक भएपछि कतिपय दाताहरु रक्तदान नगरी फर्किनु परेको उहाँले बताउनुभयो ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता नारायण दाहाल, ईश्वरी सापकोटा, देवी ज्ञवाली, विजय सुवेदी, संगीता भट्टराई, वेलीमाया घले लगायतको उपस्थिति रहेको थियो ।