साढे २४ हजार तलब खाने सुब्बाले गरेआधा अर्ब भ्रष्टाचार

काठमाडौं । नायब सुब्बा निजामती सेवामा सानो पद मानिन्छ। यिनको तलब २४ हजार ५ सय रुपैयाँ मात्र छ। तर, अकुत सम्पत्ति आर्जन गरेको अभियोग लाग्नेमा धेरैजसो सुब्बा नै छन्। ठूलाठूला भ्रष्टाचारमा सुब्बा मुछिएकाले पनि अनियमिततामा उनीहहरू बढी संलग्न रहेको पुष्टि हुन्छ।

यातायात व्यवस्था कार्यालय कोसीका तीन लेखापाल ९सुब्बा० करोडौंको भ्रष्टाचार मुद्दा खेपिरहेका छन्। लेखापाल सुरेश अधिकारीविरुद्ध ६१ करोड २८ लाखको बिगो दाबीसहित अख्तियारले मुद्दा चलाएको छ। अर्का लेखापाल देवराज नेपालमाथि ४५ करोड ६१ लाख र रुद्रप्रसाद दाहालमाथि २१ करोड ६३ लाख भ्रष्टाचार अभियोग छ। तीनै जनाको मुद्दा अदालतमा विचाराधीन छ।

यस्तै अकुत सम्पत्ति आर्जनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका नायब सुब्बा ‘रेडयो अपरेटर’ श्यामकृष्ण च्यामु श्रेष्ठविरुद्ध १४ करोड ६१ बिगोसहितको मुद्दा छ। उनीमाथि लगाइएको ३३ किलो सुन तस्करीको मुद्दा भने सर्वोच्चमा विचाराधीन छ। धरौटीबापत बैंक ग्यारेन्टी राखेर श्रेष्ठ तारेखमा छुटेका छन्।

काठमाडौं जिल्ला अदालतका नायब सुब्बा भोलानाथ चालिसेमाथि न्यायाधीश बाबुकाजी बानियाँको ‘बिचौलिया’ बनेको आरोप छ। उनी न्यायाधीशको निर्देशनमा सेवाग्राहीसँग पाँच लाख घुस लिँदै गर्दा पक्राउ परेका थिए। उनीविरुद्ध अख्तियारले मुद्दा चलाइसकेको छ।

न्याय परिषद् सचिवालयका तत्कालीन लेखापाल शिवहरि ढकाल २४ लाख ४६ हजार भ्रष्टाचारमा मुछिएका छन्। उनीविरुद्ध अख्तियारले सरकारी रकम हिनामिना गरी निजी प्रयोगमा ल्याएको आरोपमा मुद्दा चलाएको छ।
कटारी नगरपालिका उदयपुर तथा माई नगरपालिका इलामका तत्कालीन लेखा प्रमुख रबिनचन्द्र ढकालविरुद्ध सबा सात करोड बिगोसहितको मुद्दा चलाइएको छ। नगरपालिकाको मूल खाताबाट आफ्नो खातामा ठूलो रकम सारेर उनले भ्रष्टाचार गरेका थिए। जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुमा रहँदा १४ लाख ८९ हजार हिनामिना गरेको आरोप उनीमाथि छ। ढकाल हिरासतमा छन्। यो खबर आजको अन्नपूर्ण पोस्टबाट लिइएको हो ।