राउतसँगको सहमति शंकास्पद : मोहन वैद्य किरण

काठमाडौं, १६ चैत । नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’ले सरकारले तराईमा बिखण्डनबादी आन्दोलनमा लागेका सिके राउतसँग गरेको सम्झौंता अप्राकृतीक र शंकास्पद भएको बताएका छन् ।

उनले सिके राउतसँग अचानक सहमति गर्नु, रेशम चौधरीलाई आजीवन जेल हाल्नु अनि विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएर सरकार कसैको योजनामा तानाशाही बाटोमा हिडेको पुस्टि भएको बताएका छन ।

ब्रिटिश गोर्खा भूतपूर्व सैनिक संगठन ९बिगेसो० को आयोजनामा बुटवलमा आयोजित एक वैचारिक सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘सिके राउतसँगको सहमतिमा सरकार जनमत संग्रह गर्न तयार भएको हो कि होइन भनी महासचिव वैद्यले प्रश्न समेत गरेका छन् ।
महासचिव किरणले सत्तासिन दलहरुले आफ्नो इतिहास भुलेको भन्दै भने– ‘२०२८ मा झापाको बन्दुकले माले, एमाले हुँदै केपी ओलीलाई प्रधानमन्त्री बनायो ।

१० वर्षे जनयुद्धको बन्दुकले प्रचण्ड माथि पुगे, अहिले तिनीहरुकै सरकारले विप्लव नेकपालाई प्रतिबन्ध लगायो, यो सरकारको दमनकारी नीति हो । राजनीतिक कुरा राजनीतिक ढंगले टुंग्याउनु पर्छ, प्रतिबन्ध लगाएर होइन ।’

द्वन्द्वात्मक भौतिकवाद, सर्वहारावर्गको अधिनायकत्व, वर्ग संघर्ष र निरन्तर क्रान्तिको मान्यतालाई आत्मसात् नगर्ने पार्टी कम्युनिस्ट पार्टी हुनै नसक्ने नेता वैद्यले बताए ।