सोम शर्माको सातु र राजावादीहरुको सपना

प्राचीन नीतिशास्त्रको एक कथामा सोम शर्मा सपना देखिरहेका छन् । सोम शर्मा प्रतिदिन भिख मागेर ल्याएको भिक्षाटनबाट दैनिक अलिअलि बचाएर आफ्नो एकमात्र माटोको गाग्रीमा जम्मा गर्दथ्यो । जीवनमा एकपटक उसले आफ्नो गाग्री मुस्किलले पिठोले भर्न सफल भएछ्र अनि ऊ सोच्न थालेछ । उसले त्यो पिठो बेचेर केही कुखुराको चल्ला किन्नेछ, चल्ला ठूलो भएपछि तिनले अझै कुखुरा बढाउने छन् । ती सबै बेचेर बाख्रा किन्नेछु । तिनको पनि विस्तार हुनेछ र म बाख्रा बेचेर गाई किन्छु । तिनको पनि विस्तार हुन्छ अनि म मनग्गे धनी बन्नेछु । अनि राम्रो घर बन्नेछ । विवाह सुन्दर केटीसँग गर्नेछु । छोरो हुनेछ । छोरो आँगनमा खेल्न कराउनेछ, मेरो कुरा मानेन भने अनि त्यसलाई यी यसरी लात्ताले हान्नेछु भनेर हानेको घैंटामा लागेर पूरै पिठो शरीरभरि लागेछ ।्र

अहिले पूर्व राजा पनि सपना देख्दैछन् । उनको देशाटनका क्रममा जयजयकार भइरहेको छ । नेपाली जनता ‘राजा आऊ, देश बचाऊ’ को गगनभेदी नारा लगाइरहेको छ । विदेशीहरु पनि नेपालको राजनीतिक प्रणालीबाट वाक्क छन् । उनीहरुले पनि मलाई नै गद्दिसीन भएको देख्न चाहिरहेका छन् । विस्तारैविस्तार नेपालका राजनीतिक दलहरुले पनि मलाई नै समर्थन गरिरहेका हुनेछन् । राप्रपा पूरै मेरो लाइनमा आइसक्यो । उसले मैले जे भन्यो त्यही गर्नेछ । नेपाली कांग्रेस पनि मेरै समर्थनमा नआई सुखै छैन । हिन्दु धर्मको सवालमा देखिएको नेकाको बहसले अन्ततः सिङ्गै पार्टीलाई हिन्दुवादी बनाइछाड्नेछ ।

नेकाले हिन्दु धर्म अङ्गीकार गरिसकेपछि हिन्दु सम्राट पनि एक दिन स्वीकार गर्नेछ । सत्तासीन नेकपा अलि समस्या भए पनि त्यो पनि एक दिन कसो हल नहोला । अहिले अन्तरिक कलह चरम छ । त्यो एक दिन सिसासरह फुटेर चकनाचुर हुनेछ । जङ्गलको शक्तिले मलाई साथ दिन्छु भनिसकेछ । नेपाली सेना मेरा पुर्खाको आर्जन, मेरो समर्थनमा आइहाल्छ । यति सबै भइसकेपछि अहिले म सडकमा फालिएको मगन्ते भोलि यो देशको ।।।।।।कसो नबनुँला र।।। रु पूर्व राजालाई अहिले तराई मधेसको कुनै मन्दिरमा मदहोस सपनामा उँघिरहेको छोडेर अलिकति विषय अघि बढाऊँ ।

हो, अहिले राजावादीहरु सल्बलाइरहेका छन् । इतिहासको अन्तिम छटपटाहट उनीहरुको कुरा र व्यवहारबाट प्रस्ट देख्न सकिन्छ । मुलुकले अग्रगमनको यात्रा तय गरेर निक्कै अगाडि बढिसक्यो । दुईतिहाइको कम्युनिस्ट सरकारले विकास र समृद्धिको नयाँ यात्राको पहिलो पाइलो गम्भीरताका साथ राखिसकेको छ । केही बर्षमा देश समृद्धिको निश्चित मानकमा पुग्नेछ । यो स्थितिमा आफ्नो राजनीतिक दुकान पूरै सुक्ने राजावादीलाई लागिसकेको देखिन्छ । तसर्थ, समृद्धिको यात्राको प्रारम्भिक पाइलामै केही नगर्ने हो भने अब कहिल्यै पनि राजनीतिक शक्ति प्राप्त गर्न सकिन्न भन्ने छटपटी अत्यधिक बढेको देखिन्छ ।

जनतामा रहेको धार्मिक र साँस्कृतिक पछौटे चिन्तनको फाइदा लिन सकिन्छ कि भनेर धर्म–सँस्कृतिको अत्यधिक दुहाइ यो तप्काले दिइरहेको छ । पूर्व पञ्चहरु अहिले यो मोर्चाको अगाडि देखिन्छन् । तर पर्दा पछाडि थुप्रै व्यक्ति र शक्ति प्रत्यक्ष–अप्रत्यक्ष आइरहेको र आउन कोसिस गरिरहेको देखापर्छ । यसमा नेपालमा कम्युनिस्ट सरकार मन नपराउने राष्ट्रिय र अन्तर्राष्ट्रिय शक्ति पनि भित्रभित्रै हावा दिने कोसिसमा छ ।

मधेसमा यो चिन्तन उग्र संघीयताको पक्षधरताको आवरणमा आइरहेको छ । देशलाई पश्चगमनमा लैजान मधेसका स्वाभिमानी जनतालाई यसले धार्मिक आवरण पनि काफी हालेको छ । विगतमा केन्द्रीकृत शासन र शासकबाट अपमानित मधेस अहिले विकास र समृद्धिको राष्ट्रिय मूल धारमा क्रमशः आफूलाई लयमा लय मिलाइरहेको छ । मधेसलाई मैत्रीपूर्ण व्यवहार गर्ने त्यहाँको पछौटे र विपन्नातालाई समाधान गर्न जनतालाई अधिकार सम्पन्न गर्दै मुख्यतः समान विकास र समृद्धि कायम गर्नु नै हो । सिके राउतका सन्दर्भमा सरकारले पाएको सफलताले मधेसमा आशाको नयाँ दियो बलेको छ ।

नेपाली काँग्रेसभित्रको छटपटी जनतालाई अलि चिन्तित र दुःखी बनाउने प्रकारको छ । नेका अहिले प्रमुख प्रतिपक्षमा छ । जनताले उसलाई वैकल्पिक सरकारको रुपमा निर्वाचित गरेका छन् । उसले यही भूमिका आगामी पाँच वर्षसम्म सफलतापूर्वक खेल्न सक्नु पर्छ । सरकारका गलत कामलाई खबरदारी गर्ने र बाटो देखाउने कामको अगुवाइ प्रमुख प्रतिपक्षीका रुपमा कांग्रेसले गरोस् भन्ने जनअपेक्षा छ । तर नेकाभित्रका बहसका कतिपय एजेण्डा अग्रगामीभन्दा पश्चगामी देखिन्छन् । खासगरी कांग्रेस पार्टीभित्रको दक्षिणपन्थी हिस्सामा देखिएको राजावादी र हिन्दुवादी रुझान अलि चिन्तित पार्ने प्रकारको छ । यो मतको घोर दुरुपयोग पश्चगामी शक्ति र प्रवृत्तिले गर्ने खतरा देखिन्छ्र । अहिले पूर्व राजा र राजावादी नेकाभित्रको यही बहसका कारण उत्साहित बनेका छन् ।

जङ्गल पसेका विप्लव समूहको संदिग्ध भूमिकाले पनि राजावादीलाई उत्साहित बनाएको छ । विप्लवहरुको सरकारप्रतिको असहिष्णु व्यवहार र गतिविधि जुनसुकै र जस्तोसुकै हालतमा वर्तमान सरकार विघटनका लागि जहाँ र जोसुकैसँग पनि हातेमालो गर्ने प्रवृत्तिका कारण यस्तो अपवित्र अघोषित गठबन्धन बन्ने दिशातिर गएको देखिन्छ । खासगरी उनीहरुले अङ्गीकार गरेको सत्ता साझेदारीको कार्यनीतिको प्रयोगले घोर दक्षिणपन्थी मोर्चा खडा हुने खतरा देखा पर्दै गएको छ ।

नेपाल अहिले अग्रगमन र पश्चगमनको सङ्घर्षमा छ । अग्रगमनकारी पक्षको नेतृत्वमा देश विकास र समृद्धिको पथमा छ । तर, पश्चगमनकारी शक्ति इतिहासको अन्तिम सङ्घर्षका लागि अनुकूल मौकाको खोजीमा देखिन्छ । पूर्व राजा यसको शीर्ष स्थानमा आफूलाई राखेर कामकारवाही अघि बढाउने परिकल्पनामा छन् । उनी अनावश्यक प्रयोग हुन खोजिरहेका छन् ।

अग्रगमनको नेतृत्व गरेको पार्टी र सरकार भएका कारण यो शक्तिले पनि आफूलाई पश्चगमनका विरुद्ध लड्न गम्भीर रुपमा तयार पार्नु पर्छ । उसले सर्वप्रथम जनताले दिएको जनादेशबमोजिम शान्ति र समृद्धिका लागि परिणाम आउने तवरले लाग्नु पर्छ । विकास र समृद्धिले मात्र अब आउने गलत र विपरीत विचारसँग मुकाबिला गर्न सकिन्छ भन्ने बुझ्नु पर्छ । यसका लागि आफ्नो पार्टी र सरकारको एकता सुदृढ पार्ने कामलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ । जनताको साथ र समर्थन सधैं भइरहने कुरा र कामको सुनिश्चितता बनाइरहनुपर्छ । जननीति सरकार र पार्टीका काममा ब्यक्त भइरहनुपर्छ्र । अहिले सरकार र पार्टी यही गर्ने प्रयत्न गरिरहेको छ ।

अब अन्त्यमा पूर्व राजालाई सपनाको स्वैरकल्पनाबाट जगाएर लेखको बिट मार्दछु् । पूर्व राजालाई लोककथाको सोम शर्माले घैंटो फुटाउनुपूर्व नै खबरदारी गरौं । जनता र राजनीतिक नेतृत्वले उदारतापूर्वक व्यवहार गरिरहेको छ । यसलाई उनले कमजोरी ठान्ने भुल फेरि नगरुन् भन्ने एक पटक पुनः सम्झाऊँ । बाँकी जीवन व्यक्तिगत रुपमा स्वतन्त्र भएर बाँचून् तर जनता र राष्ट्रको विपक्षमा पुनः अँध्यारो कुनामा बसेर षडयन्त्र नगर्न सचेत बनाऊँ । समयबद्ध साप्ताहिकबाट