जो आफन्तबाटै बारम्बार बलात्कृत भए


                                                                                                    प्रतिकात्मक फोटो

काठमाडौंँ । अघिल्लो महिनाको दोस्रो साता सप्तरीमा एकजनाले बहिनीलाई बलात्कार पछि हत्या गरे । केही महिनाअघि धरानमा हजुरआमाको किरिया बार्न मामाघर पुगेका दुई दिदीबहिनी आफन्तबाटै बलात्कारमा परे ।
धरानमै एक व्यक्तिले भान्जीलाई बारम्बार बलात्कार गरेको घटना सार्वजनिक भयो । त्यस्तै भोजपुरका एक युवकले छिमेककै एक १३ वर्षीया बालिकालाई बलात्कार गरेपछि उनी गर्भवती भइन् ।
अधिकारकर्मी एवं कानुन व्यवसायी मीरा ढुङ्गानासँग अहिले पनि साना बालिका बलात्कारका तीनवटा मुद्दा छन् । पछिल्लो समय यसैगरी छिमेकी, चिनजान र आफन्तले नै छोरीचेलीलाई बलात्कारका घटना बाहिर आउन थालेको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले बताए ।

बलात्कारका घटना बढ्नुमा सामाजिक, जातीय, वर्गीय पारिवारिक, आर्थिक, प्रविधिको सही प्रयोग गर्न नजान्नु, सामाजिक मूल्य मान्यताअनुरुपको नैतिक शिक्षाको कमी तथा राज्यको नीतिगत पक्ष जिम्मेवार रहेको समाजशास्त्री डा।मीना उप्रेती बताउँछन् ।

व्यक्तिको हुर्काइ, उसको सङ्गत र सामाजिक व्यवस्था, काम तथा जिम्मेवारीको बोझ कम हुन र मानसिक रोग र प्रविधिको बेप्रवाह प्रयोगजस्ता मनोरोग कारक रहेको मनोचिकित्सक डा।सरोज ओझाको भनाइ छ ।

“आफन्त र चिनजानका व्यक्तिबाटै बलात्कारमा पर्ने बालबालिका ७४ प्रतिशत छन्,” प्रवक्ता सुवेदीले भने, “अधिकांश घर, स्कुल छेउछाउमै परिचितका सिकार भएका छन् । उहाँका अनुसार गलत व्यक्तिले सजिलो सिकार खोज्ने प्रवृत्ति पछिल्लो समय देखिएको छ । यो समाचार
आजको गोरखापत्र दैनिकमा चाँदनी हमालले लेखेकी छिन् ।