इच्छाकामना गाउँपालिकाको जलविरे लामो झरनासम्मको सडकमा ढलान पिच हुने

चित्र बहादुर गुरुङ/चितवन,जलविरे/९ चैत/ चितवनको इच्छाकामनामा रहेको पर्यटकिय स्थल लामो झरना जाने कच्ची सडकमा ढलान पिच हुने भएको छ । इच्छाकामना गाउँपालिकाको ४० लाख लगानीमा झरनाको मुख्य प्रवेशद्वार रहेको जलविरे देखि झरना स्थलसम्मको करिब १ किलोमिटर सडकमा ढलान पिच हुने भएको हो । सडकमा ढलान पिच गर्नको लागि बोलपत्र आह्वान गरिसकेको गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङले जानकारी दिनुभएको छ । ‘टेण्डरको काम सकेर अब छिट्टै ढलान पिचको काम सुरु हुनेछ’ –उहाँले भन्नुभयो । ढलान पिच सँगै सडक फराकिलो पनि बनाइने अध्यक्ष गुरुङले बताउनुभयो । हाल भएको सडकलाई ६ मिटरसम्म फराकिलो पारिने जानकारी दिनुभयो । सडक कालोपत्रे भएसँगै झरना अवलोकनका लागि आउने पर्यटकको संख्यामा उल्लेख्य वृद्धि हुने अपेक्षा गरेको लामो झरना पर्यटन विकास समितिका अध्यक्ष देव कुमार गुरुङले बताउनुभयो । गुरुङले भन्नुभयो– ‘कच्ची सडक र धेरै ठाडो उकालोका कारण कतिपय पर्यटकहरु झरना स्थलसम्म नगई तलैबाट फर्कने गथ्र्यो । बाटो सहज भएपछि पर्यटक बढ्ने आश गरेका छौं ।’