राइनो कप भलिबल प्रतियोगिता सुरु

पत्रकार पोख्रेलसहित तीन जना सम्मानित

 

चितवन । होली पर्वको अवसर पारेर पश्चिम चितवनको चम्पानगरमा भलिबल प्रतियोगिता सुरु भएको छ । हिमाल युवा क्लब भरतपुर १३ चम्पानगरको आयोजनामा तेस्रो वातावरण मैत्री खुल्ला राइनो कप भलिबल प्रतियोगिता सुरु भएको हो । आज भएको उद्घाटन खेलमा आयोजक हिमाल युवा क्लब ए विजय भयो ।

क्लवले कञ्चन समाज विकास परिषद लाई २५–१४ र २५–११ को सोझो सेटमा पराजित गरेको थियो । कार्यक्रमको उद्घाटन सत्रमा पत्रकार विवेक पोख्रेलसहित तीन जनालाई क्लवले सम्मान गरेको छ । गत वर्षको भलिबल प्रतियोगीता तथा क्लबको अन्य कार्यक्रमको प्रचार प्रसारमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै भरतपुरको सिनर्जी एफएफ तथा नयाँ पत्रिका राष्ट्रिय दैनिकमा कार्यरत पोख्रेललाई क्लबले सम्मान गरेको हो । पोख्रेलसँगै वातावरणमैत्री खुल्ला राइनो कप भलिबल प्रतियोगिताका संस्थापक कार्यक्रम संयोजक रामहरि ढकाल र कार्यक्रम सम्पन्न गर्न विशेष सहयोग गरेको भन्दै जयराम गिरीलाई क्लबले सम्मान गरेको थियो ।

राष्ट्रिय खेलको रुपमा घोषित भलिबल खेलमार्फत यसको विकास, राष्ट्रिय खेलाडी उत्पादन, वन्यजन्तु र जैविक विविधताको संरक्षण तथा स्थानीय पर्यटनको प्रर्वद्धन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा १३ टिमको सहभागीता रहेको छ । प्रतियोगितामा चितवनसहित नवलपुर, लम्जुङ्ग र तनहुँ जिल्लाका समूहको सहभागिता छ । प्रतियोगीताको बिजेता टिमले नगद रु ५१ हजार, दोस्रोले रु २५ हजार, तृतियले रु ११ हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले रु ३ हजार, सर्वोत्कृष्ट सटरले रु २ हजार, सर्वोत्कृष्ट लिफ्टरले रु २ हजार, सर्वोत्कृष्ट डिफेन्सले रु २ हजार प्राप्त गर्ने खेल संयोजक पवन रेग्मीले जानकारी दिनुभयो ।

क्लबकी उपाध्यक्ष रमना पण्डितका अनुसार खेल अवधिमा प्रकाश विभूषण तेक्वान्दो डोजाङ्गको पुम्से र स्थानीय कलाकारको सांगितीक प्रस्तुती रहने छ । प्रतियोगिताको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता यमबहादुर परियारले उद्घाटन गर्नु भएको थियो । उद्घाटन कार्यक्रम क्लबका अध्यक्ष केशव देवकोटा अध्यक्षतामा भएको थियो । प्रतियोगीता चैत ९ गते सम्म चल्ने छ ।