२०७६ सालमा जम्मा १५ दिन सार्वजनिक बिदा हुने

 

काठमाडौं/सरकारले २०७६ सालमा १५ दिन सार्वजनिक बिदा दिने घोषण गरेको छ । शुक्रबार राजपत्रमा सूचना प्रकाशित गरी गृह मन्त्रालयले देशैभर १५ दिनमात्र सार्वजनिक बिदा हुने सार्वजनिक गरेको हो ।

वैशाख महिनामा सरकारले नयाँ वर्षका दिन वैशाख १ गते आइतबार र विश्व मजदुर दिवसका दिन वैशाख १८ गते बुधबार देशभर सार्वजनिक बिदा दिने जनाएको छ । जेठ महिनामा एक दिनमात्र ४ गते शनिबार सार्वजनिक बिदा दिइएको छ ।

असार, साउन र भदौ महिनामा एक दिन पनि देशभर लागू हुने गरी सार्वजनिक बिदा दिइएको छैन । असोज ३ गते शुक्रबार संविधन दिवसको दिन सार्वजनिक बिदा दिइएको छ भने असोज १८ गते शनिबारदेखि २२ बुधबारसम्म अर्थात फूलपातीदेखि एकादशीसम्म ५ दिन सार्वजनिक बिदा दिइएको छ ।

तिहारका लागि कात्तिक १० गते आइतबारदेखि १२ गते मंगलबारसम्म अर्थात लक्ष्मीपूजादेखि भाइटीकासम्म ३ दिन बिदा दिइएको छ । मंसिर, पुस र माघ महिनामा देशभर लागू हुने गरी बिदा दिइएको छैन । फागुन महिनामा ९ गते शुक्रबार महाशिवरात्रीमा र फागुन २५ गते आइतबार अन्तर्राष्ट्रिय महिला दिवसमा सार्वजनिक बिदा दिइएको छ । यो समाचार नेपाल समाचारपत्रमा प्रकाशित छ ।