मानव बेचबिखन गरेको आरोपमा गौतमलाई दस वर्ष कैद ।

चितवन। चितवन जिल्ला अदालतले मानव बेचबिखनको आरोप लागेका एक महिलालाई दस वर्ष कैद तथा क्षतिपूति भराउने फैसला गरेको छ ।

भरतपुर महानगरपालिका ११ गणेशस्थान बस्ने बर्ष ३२ की सजनी विक गौतमलाई सोही ठाउँकी १४ वर्षीया एक बालिकालाई कात्तिक २१ गते बेचबिखन गर्ने उद्देश्यले बुटवल चौराहा लगेको भन्दै पीडितपक्षले आरोपितविरूद्ध मंसिर ६ गते जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी दिएका थिए । जाहेरी दिएपछि प्रहरीले उनलाई मंसिर ५ गते नै पक्राउ गरेको थियो ।

पक्राउ परेका गौतमलाई अदालतका न्यायाधीश वासुदेव न्यौपानेको इजलासले १० वर्ष कैद, १ लाख जरिवाना र ५० हजार क्षतिपूर्ति भराउने फैसला गरेको हो ।

करणीको प्रयास गर्ने काले दमैलाइ कैद ।
उता, वैशाख २७ गते घरमा कोही नभएको समयमा जबर्जस्ती करणीको प्रयास गर्ने कालिका नगरपालिका ५, पदमपुर छहारी टोलका ५० वर्षीय काले दमैलाइ चितवन अदालतले साँढे २ बर्ष कैद फैसला सुनाएको छ । न्यायाधीश कुलप्रसाद शर्माको इजलासले सोही स्थानका २० वर्षीया एक महिला लाई जवरजस्ती करणी गरेको भन्दै उक्त फैसला सुनाएको हो ।