नेकपामा गुटै गुट, राम बहादुर थापा तानातानमा


फागुन २८, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा नेकपाभित्र ‘तानातान’ मा परेका छन् । पार्टीमा रहेका विभिन्न गुटमध्ये ३४ केन्द्रीय सदस्यलाई आफ्नो पक्षमा राख्न सफल गृहमन्त्री थापा सरकारमा मात्र होइन, पार्टी राजनीतिमा पनि निर्णायक देखिएका छन् ।

पार्टीको सांगठनिक एकता प्रक्रियामा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल तथा वरिष्ठ नेता माधव नेपालबीच गुटगत प्रतिस्पर्धा चलिरहँदा उनी कतै खुलेका थिएनन् । तर सचिवालय बैठकमा थापा एक्लै भए पनि ‘निर्णायक’ पोजिसनमा छन् । त्यसैले थापा तानातानमा परेका हुन् ।

नेकपा सचिवालयभित्र वरिष्ठ नेता नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठको एउटा गुट छ । अध्यक्ष ओली, महासचिव विष्णु पौडेल र सचिवालय सदस्य ईश्वर पोखरेलको अलग्गै गुट छ । दुई अलग गुट देखापरेपछि थापा एक्लै भए पनि निर्णायक देखिएका हुन् ।

अध्यक्ष दाहाल अर्का अध्यक्ष ओली तथा नेपाल दुवै समूहसँगको समदुरी सम्बन्धमा देखिए पनि भित्री रूपमा उनी नेपाल पक्षसँग नजिकिन थालेका छन् । उनी तत्काल अध्यक्ष ओलीसँगको सम्बन्ध बिगार्न र आफ्नो पक्षधरता खुलाइहाल्ने पक्षमा देखिँदैनन् । गृहमन्त्रीसमेत रहेका सचिवालय सदस्य थापा ओली इतर पक्षमा खुलेमा त्यो पक्षसँग बहुमत रहेको आधारमा आफूलाई पनि पार्टीभित्र बोल्न सजिलो पर्ने ठम्याइ दाहालको छ । तर थापा नखुलिदिँदा नेकपाभित्रको सचिवालयमा समीकरण हेरफेर र अध्यक्ष ओलीको निर्णयमा ‘हस्तक्षेप’ गरिहाल्न सक्ने अवस्थामा सचिवालयका कुनै नेता देखिँदैनन् ।

‘सचिवालयमा गृहमन्त्री थापा ‘स्टाइकर’ को भूमिकामा छन्,’ सचिवालयका एक नेताले अन्नपूर्णसँग भने, ‘उनी जता खुल्छन्, त्यतै बहुमतको निर्णय हुनेछ ।’

नेकपाभित्र थापाको छुट्टै गुट छ । तत्कालीन माओवादीमा रहेको उनको अलग्गै गुट अहिले पनि यथावत् छ । तत्कालीन माओवादी विभाजनका बेला मोहन वैद्यसँग लागेका थापा पाँच वर्षपछि बहुमत नेताकार्यकर्ता लिएर पुनः दाहाल नेतृत्वको माओवादीमै फर्केका थिए ।

नेकपाका विभिन्न गुटमध्ये ३४ केन्द्रीय सदस्यलाई आफ्नो पक्षमा राख्न सफल सचिवालय सदस्य एवम् गृहमन्त्री रामबहादुर थापा सरकारमा मात्र होइन, पार्टी राजनीतिमा पनि निर्णायक देखिएका छन् ।

यसैले पनि पार्टी केन्द्रीय समितिदेखि प्रदेश कमिटीसम्म र संघीय व्यवस्थापिकादेखि प्रदेशसभासम्म थापा निकट नेताहरूको प्रतिनिधित्व छ । पार्टी उच्च स्रातका अनुसार प्रधानमन्त्री ओलीले गृहमन्त्री रहेका थापाले तत्काल आफ्नो साथ छोड्न नसक्ने विश्वासमा छन् । त्यही भएर पनि ओलीले थापालाई बालुवाटारमा बोलाएर आफूलाई सघाउन आग्रह गर्दै आएका छन् ।

संगठनात्मक एकता प्रस्ताव तयार पार्न गठित कार्यदल विघटनमा अध्यक्ष ओलीको रुचिअनुसार काम गरेको, झम्सिखेल बैठकमा नबोलाइएका कारण देखाएर ओली पक्षले थापालाई आफ्नो समूहबाट टाढा जान नदिने रणनीति बनाएको छ । ओली निकट स्रोतले भन्यो, ‘हामी थापालाई झट्ट विश्वास पनि गरिनहाल्ने र टाढा जान पनि नदिने रणनीतिमा छौं ।’

दाहाल पक्षले पनि उनलाई फकाउने रणनीतिमा छ । स्रोतका अनुसार अध्यक्ष दाहालसहित नेकपाका अन्य वरिष्ठ नेताले उनलाई आफूहरूलाई सघाउन गत फागनु १७ गते पनि अनुरोध गरेका थिए । सोही दिन दाहाल निवास खुमलटारमा नेकपाका नेताहरू अध्यक्ष दाहाल, माधव नेपाल, वामदेव गौतम र थापाबीचमा छलफल भएको थियो । उक्त छलफलमा श्रेष्ठ भने सहभागी थिएनन् ।

उक्त बैठकमा पनि नेताहरूले सहयोग गर्न दाहालसमक्ष आग्रह गरेका थिए । तर त्यहाँ पनि उनी नखुलेको स्रोतले बतायो । पछिल्लो समयमा भित्री रूपमा निर्माण हुँदै गएको गठबन्धनमा साथ दिन सो समूहले नै थापा पक्षलाई आग्रह गरिरहेको छ । गत पुस २२ मा नेकपाका चार सचिवालय सदस्यले सचिवालय बैठक बहिष्कार गरेका बेला पनि उनको साथ नेताहरुले खोजेका थिए । तर थापाले त्यसबेला अध्यक्षद्वय ओली–दाहाललाई नै सघाए ।

यस्तो छ शक्ति

नेकपाको चार सय ४१ सदस्यीय केन्द्रीय समितिमा गृहमन्त्री थापासँग ३४ जना नेता छन् । यो केन्द्रीय समितिको ७।७० प्रतिशत हो । थापा समूहमा नेताहरू देवप्रसाद गुरुङ, पम्फा भुसाल, हितमान शाक्य, कुलप्रसाद केसी, सावित्रीकुमार काफ्ले र सूर्यप्रकाश सुवेदी छन् । यस्तै श्रीराम ढकाल, सुरेश आलेमगर, अमृता थापामगर, इन्द्र आङबो, इन्द्रजित थारू, कुमारी मोक्तान र डाचाराज वाग्ले पनि थापा गुटमै छन् । उनको समूहमा रहेका अन्य नेताहरूमा तारा घर्ती, दामा शर्मा, दिलीप महर्जन ९भीष्म०, नरेश भण्डारी, नारायण शर्मा पौडेल, नेपबहादुर चौधरी, परशुराम रम्तेल, पार्वती थापा, मनोज थापा, महेश्वर दाहाल, मायाप्रसाद शर्मा, यशोदा सुवेदी, युवराज भट्टराई, रामदीप आचार्य, लक्ष्मण पन्त, लक्ष्मीदत्त जोशी, लेखनाथ न्यौपाने, हरिबहादुर चुमान, हेमराज शर्मा ‘डायमन्ड’ र ज्ञानु बस्नेत हुन् । यीमध्ये नारायण र हितमान भने अहिले पार्टी सम्पर्कभन्दा बाहिर छन् ।

प्रतिनिधिसभामा देव गुरुङ, पम्फा भुसाल, अमृता थापा र यशोदा सुवेदी गुरुङ तथा राष्ट्रियसभामा थापा आफैं र बिना पोखरेल दुई जना छन् ।

नेकपाका २८ जना प्रदेश पदाधिकारीमा थापा पक्षका चार नेताले जिम्मेवारी पाएका छन् । प्रदेश १ मा सहइन्चार्ज सावित्रीकुमार काफ्ले, कर्णाली प्रदेश सचिवमा मायाप्रसाद शर्मा र सुदूरपश्चिम प्रदेश सहइन्चार्जमा लक्ष्मीदत्त जोशी र सचिवमा नेपबहादुर चौधरीलाई जिम्मेवारी दिलाउन थापा सफल भएका छन् । प्रदेश कमिटीमा पनि थापा पक्षका झन्डै ८ प्रतिशत नेता छन् ।

केन्द्रीय सरकारमा उनी आफैं प्रभावशाली मानिने गृह मन्त्रालयको जिम्मेवारीमा छन् भने संघीय व्यवस्थापिकामा देव गुरुङलाई प्रमुख सचेतकको जिम्मेवारी दिलाउन सफल भएका छन् ।

प्रदेश सरकारअन्तर्गत प्रदेश १ मा आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बो, प्रदेश ४ मा आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान, प्रदेश ५ मा आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसी, कर्णाली प्रदेशमा आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी थापा पक्षकै नेता हुन् । प्रदेश ५ सभामुख रहेका पूर्णबहादुर घर्ती पनि बादल पक्षका नेता हुन् ।

थापा जोडिएका घटना चर्चित घटना

तथ्य १ स्झम्सिखेलमा डाकिएनन् थापा

गत माघ १० गते नेकपाका ९ सचिवालय सदस्यमध्ये बहुमत सदस्यको ललितपुर झम्सिखेलमा गोप्य बैठक बस्यो । अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली स्विजरल्यान्डमा रहेका बेला अर्का अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल, सचिवालय सदस्य वामदेव गौतम र नारायणकाजी श्रेष्ठको बैठक बसेको थियो ।

पूर्वएमालेभित्रका ओली इतर धार र माओवादीभित्रका धारको बैठक थियो, त्यो । तर बैठकमा माओवादी धारकै भए पनि गृहमन्त्री थापा बोलाइएनन् । महासचिव विष्णु पौडेल, सचिवालय सदस्यसमेत रहेका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल ओली निकट भएका कारण बोलाइएनन् । तर थापालाई नबोलाइएको विषयमा भने माओवादी धारभित्र चर्चा चलेको थियो ।

तथ्य २ स्कार्यदलमा ओली पक्षमा उभिए

नेकपाको स्थायी समिति बैठक ९२९ मंसिर देखि पुस १३ सम्म० ले पार्टी एकताको संगठनात्मक प्रस्ताव तयार पार्न गृहमन्त्री थापाकै संयोजकत्वमा नौ सदस्यीय कार्यदल गठन गरेको थियो । अध्यक्ष ओली, अर्का अध्यक्ष दाहाल र वरिष्ठ नेता माधव नेपाल पक्षका तीनतीन नेता समेटेर गठित कार्यदलमा थापा अध्यक्ष दाहाल गुटकै प्रतिनिधि मानिन्थे । तर थापाले दाहाल र नेपाल पक्षका कार्यदल सदस्यतिर आफूलाई उभ्याएनन् ।

थापाले ओलीकै रुचिमा कार्यदल विघटन गर्न सघाए । त्यसपछि कार्यदलका बहुमत सदस्य सुरेन्द्र पाण्डे, वर्षमान पुन, बेदुराम भुसाल, योगेश भट्टराई र लेखराज भट्टले अलग्गै प्रतिवेदन दुवै अध्यक्षलाई बुझाए । बहुमत सदस्यले कार्यदलका संयोजक थापा र सदस्य विष्णु पौडेलको अनिच्छाले कार्यदलबाट निर्धारित सबै काम हुन नसकेको निष्कर्ष निकालेका थिए ।

तथ्य ३ स्दाहाललाई जानकारीसमेत दिएननप्रधानमन्त्री ओली स्वयंको पहलकदमी र अग्रसरतामा तराईमा पृथक्तावादी आन्दोलन चलाइरहेका सीके राउतसँग फागुन २३ गते प्रधानमन्त्री निवास बालुवाटारमा ११ बुँदे सहमति भयो । राउतसँग सहमतिपूर्व प्रधानमन्त्रीले पार्टीकै अर्का अध्यक्ष तथा वरिष्ठ नेतासँग परामर्श लिन चाहेनन् । तर गृहमन्त्री थापालाई भने बेलुकी नै बालुवाटारमा बोलाई राउतसँगै सहमतिपत्रमा हस्ताक्षर गर्न अह्राएका थिए । त्यसबेला बालुवाटारमा प्रधानमन्त्री ओली, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री थापा, महासचिव विष्णु पौडेल र प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार राजन भट्टराई सहभागी थिए । यो घटना पनि थापाले दाहाललाई सुनाउन चाहेनन् । आजको अन्नपूर्णपोष्टबाट ।