वैदेशिक ऋण र अनुदान घट्दै

काठमाडौं – सरकारले यस आर्थिक वर्षको बजेटमार्फत खर्च गर्ने योजना बनाएको वैदेशिक सहायता ऋण र अनुदान दुवै घट्ने भएको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ।

केही दिनअघि बजेटको मध्यावधि समीक्षाका क्रममा अर्थमन्त्री डा। युवराज खतिवडाले बजेटमा खर्च व्यहोर्ने स्रोतका रूपमा अनुमान गरिएको वैदेशिक ऋण र अनुदान क्रमशः ३५।६ र ३२ प्रतिशतले घट्ने अनुमान सार्वजनिक गरेका छन् । सरकारले चालु आर्थिक वर्षको बजेटमा दुई खर्ब ५३ अर्ब वैदेशिक ऋण ५८ अर्ब रुपैयाँ वैदेशिक अनुदान परिचालन गर्ने बताएको थियो ।

अर्थमन्त्रीले दातृ निकायका सर्त र देशको आवश्यकताको कहींकतै मिलनबिन्दु नभएर बजेटमा समावेश गरिसकिएको वैदेशिक सहायतालाई पनि घटाउनुपरेको बताउँदै आएका छन् ।

सबैभन्दा ठूलो परिमाणमा वैदेशिक ऋण कटौती गर्नुपर्ने बाध्यताका पछाडि भारतीय एक्जिम बैंकको ऋण सहयोग मुख्य कारण रहेको अर्थ मन्त्रालयले जनाएको छ । भारतले भूकम्पपछिको पुनर्निर्माणका लागि दिएको एक अर्ब अमेरिकी डलरको सहयोगमध्ये २५ करोड डलर अनुदानमा प्राप्त भएको हो भने बाँकी ७५ करोड एक्जिम बैंकबाट प्राप्त हुने ऋण सहयोग हो ।