नेपालमा तत्कालका लागि पानीजहाज ल्याउन कठिन


काठमाडौं/जल यातायात सञ्चालनका लागि स्थलगत सम्भाव्यता अध्ययनले नेपालभित्रै तत्काल पानीजहाज आउन कठिन देखाएको छ । नेपाल र भारतका विज्ञ प्राविधिक टोलीले संयुक्त रूपमा नारायणी र कोसी नदीमा गरेको स्थलगत सम्भाव्यता अध्ययनपछि अधिकारीहरू यो निष्कर्षमा पुगेका हुन् । ‘खासगरी कोसी र गण्डक ब्यारेजभन्दा मुनि पानीको सतह न्यून भएका कारण नेपालभित्र तत्काल पानीजहाज सञ्चालन असम्भव देखिन्छ,’ स्थलगत अध्ययनमा सहभागी एक सदस्यले भने ।

कोसी र गण्डक ब्यारेजबाट अधिकांश पानी नहर हुँदै भारततर्फ नै लगिएको छ । त्यसकारण हिउँदमा त्यस क्षेत्रमा पानीको सतह एकदमै कम हुने गरेको छ । तर, पानीजहाजका लागि नदीमा पानी छाड्न भारत तयार नभएकाले मालबाहक पानीजहाज ल्याउन तत्काल सम्भव नदेखिएको उनको भनाइ छ । ‘पानीको सतह बढ्ने भएकाले बर्खामा भने पानीजहाज ल्याउन सकिएला,’ उनले भने, ‘तर, त्यो दिगो होइन ।’

भारतले हालै गण्डक र गंगाको संगमस्थल हाजीपुरसम्म ३ सय किलोमिटर जलमार्ग निर्माणको थालनी गरेको थियो । बघा नेपाल–भारत सिमानाको त्रिवेणीघाटको नजिक पर्छ । त्यो जलमार्गमा पनि ठूलो माल ढुवानीका लागि नभएर स्थानीय कृषिउपजलाई बजार पहुँच दिलाउने प्रयोजनका लागि भारतले निर्माण गरिरहेको ती सदस्यले बताए । त्यसो हुँदा अन्तर्रा्ष्ट्रिय व्यापारमा प्रयोग हुने कार्गो त्यसमार्फत आउने सम्भावना कम रहेको उनको भनाइ थियो । यो समाचार जनार्दन बराल र जीवन बस्नेतले नयाँ पत्रिकामा लेखेका छन् ।