अरुण तेस्रो आयोजनामा बम विस्फोटको घटना रहस्यमय

घटना संलग्न अझै पक्राउ परेनन्

 

काठमाडौं / संखुवासभामा निर्माणाधीन नौ सय मेगावाटको बहुचर्चित अरुण तेस्रो जलविद्युत् आयोजना निर्माणको काम अहिले तीव्र रूपमा भइरहेको छ । भारतीय सतलज विद्युत् निगम (एसजेभिएन) लिमिटेडले आयोजनाको काम गरिरहेको छ । सन् २०२२ सम्म निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको अरुण तेस्रो आयोजनाको गत २८ वैशाखमा प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले काठमाडौंबाट संयुक्त रूपमा स्विच दबाएर शिलान्यास गरेका थिए । ०४२ सालदेखि सुरु भएको अरुण–३ जलविद्युत् आयोजना लामो समय रोकिएर केही वर्षअघिबाट सुचारु भएको हो ।
आयोजनामा भारत सरकारको ७४।५ प्रतिशत र हिमाञ्चल राज्य सरकारको २५/५ प्रतिशत स्वामित्व रहेको छ । विद्युत् उत्पादन भएको २५ वर्षपछि नेपालको स्वामित्वमा आउनेछ भने स्थानीयले ३० मेगावाट विद्युत् निःशुल्क पाउने सम्झौता छ । अरुण तेस्रो आयोजनाले जिल्लाको साबिक पाँच गाविस मकालु, नुम, याफु, दिदिङ र पाथीभरालगायतका स्थानमा प्रत्यक्ष प्रभावित पार्नेछ ।
आयोजनाको काम तीव्र ढंगले भइरहे पनि केही समयदेखि विभिन्न समूहको आक्रमणको निसानामा परेको छ । आयोजनालाई लक्षित गरेर बम विस्फोट र आगजनीका घटना भइरहे पनि त्यसको वास्तविकता भने पत्ता लाग्न सकेको छैन । आक्रमणको घटनाको जिम्मेवारी कसैले नलिनु र घटनामा संलग्नलाई पक्राउ गर्न नसक्नुले घटना रहस्यमय बन्दै गएको हो । यो समाचार नयाँ पत्रिकामा छ।