मालपोत कार्यालय भरतपुरका लेखा अधिकृत दर्जी अझै सम्पर्क बिहिन ।


चितवन , १२ फागुन । मालपोत कार्यालय भरतपुरको लेखा अधिकृतका रुपमा कार्यरत रिठ्ठे दर्जी अझै सम्पर्कमा आएका छैनन् । कार्यालयको करोडौं रकम हिनामिना गरी झन्डै तीन महिनादेखि बेपत्ता भएका दर्जी अझै सम्पर्कमा नआएको अख्तियार प्रशासनले जनाएको छ ।

कोष तथा लेखा नियन्त्रकको कार्यालय भरतपुरका सूचना अधिकृत कृष्णबहादुर अधिकारीले अघिल्लो वर्ष पनि दर्जीले रकम हिनामिना गरेको जानकारी दिए । त्यस समय हिनामिना भएको झन्डै एक करोड रूपैयाँ रकम दर्जीले तत्कालै दाखिला गराएका थिए । त्यस समयमा उनी अख्तियारको अनुसन्धानबाट फुत्कन सफल भएका थिए । तर, मालपोत विभागले उनलाई सचेत गराएको थियो । सचेत गराई विभागीय कारबाही गर्दा समेत दर्जी नसच्चिएकाले राजस्व हिनामिना भएको कर्मचारीहरु बताउँछन् । महालेखा परीक्षकको कार्यालयले पौने दुई करोड रूपैयाँ बेरूजु देखाएपछि दर्जी सम्पर्कविहीन भएका हुन् ।

पहिलोपटकको गल्तीमै उनलाई आवश्यक कारबाही नगरिएकाले उनले दोस्रोपटक पनि गल्ती गर्न अवसर पाएको मालपोतकै कर्मचारीहरु बताउँछन् । केही दिन बिदामा बसेर मंसिर २४ गते कार्यालयमा हाजिर भई उनी आफैँले रकम खर्च गरेको र तिर्न नसकेको खण्डमा कानुनअनुसार जस्तोसुकै कारबाही भोग्न पनि तयार छु भनेर सनाखत गराइएको थियो । राजस्व अपचलनजस्तो गम्भीर अपराधमा मालपोत कार्यालय भरतपुरका प्रमुख कडारुपमा प्रस्तुत नहुनु पनि कमजोरी देखिएको छ । उनी भारत गएको भनी सूचना पाएको समेत मालपोत कार्यालयकै एक कर्मचारीले आफ्नु नाम नबताउने सर्तमा बताए ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले लेखासँग सम्बन्धित सबै कागज सक्कलै लिएर गइसकेको मालपोत कार्यालयमा हाल लेखा अधिकृतका रुपमा कार्यरत हरिहर शर्मा तिवारीले बताए । ‘अख्तियारले दुई वर्षदेखिको कागजपत्र बोरामा कोचेर लगेको छ’, अधिकृत शर्माले भने, ‘रकम हिनामिनाको विषयमा अनुसन्धान जारी रहेको छ ।’

दर्जीसँग सम्पर्क नभएपछि घरमै खोज्न जाँदा भरतपुर १० मा रहेको सप्तगण्डकी डिपार्टमेन्ट स्टोर्समा मोबाइल र मोटरसाइकल छाडेर गएको पाइएको थियो । मंसिर २६ गते नै मालपोत कार्यालयले उक्त रकम असुल गरी विभागीय कारबाहीका लागि अख्तियारमा आवश्यक कागजात बुझाइसकेको छ । हाल दर्जीको नाममा र उनका परिवारका सदस्यका नाममा रहेका कुनै पनि चलरअचल सम्पत्ति रोक्का गरिसकिएको कार्यालयले जनाएको छ । उनको खोजीका लागि चितवन प्रहरीमा कुनै पनि निवेदन नपरेकोले समस्या भएको चितवन प्रहरीका प्रहरी प्रमुख एसपी सुशील सिंह राठौरले बताए ।