चितवन राष्ट्रिय निकुञ्जमा घुम्न आउने पर्यटकको संख्यामा वृद्धि ।


चितवन , ८ फागुन । चितवन राष्ट्रिय निकुञ्जमा घुम्न आउने पर्यटकको संख्यामा वृद्धि भएको छ । चालु आर्थिक वर्षको शुरुको छ महीनामा गत वर्षको सोही अवधिमा भन्दा २१ हजार २८ पर्यटक बढेका हुन् । निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेका अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा ८८ हजार १५१ पर्यटकले निकुञ्ज घुमेका छन् । जसमध्ये १८ हजार ७३४ नेपाली, १० हजार ३३८ सार्क मुलुकका र ५९ हजार ७९ सार्क बाहेकको देशका रहेका छन् । गत वर्षको पुस मसान्तसम्ममा ६७ हजार १२३ पर्यटकले निकुञ्ज घुमेका थिए । घिमिरेका अनुसार चालु आवमा शुरु छ महिनामा १५ करोड एक लाख १५ हजार ७८३ राजश्व संकलन भएको छ । गत आवमा २३ करोड ७३ लाख ६३ हजार ९६३ राजश्व सङ्कलन भएको थियो । गत वर्ष एक लाख ५२ हजार ६७१ पर्यटकले निकुञ्ज घुमेका थिए । भूकम्प र नाकाबन्दीपछि ओरालो लागेको पर्यटकको संंख्या बढ्दै गएको छ । क्षेत्रीय होटल संंघ चितवनका अध्यक्ष सुमन घिमिरेले नारायणगढ मुग्लिन सडकखण्ड राम्रो भएसँगै पर्यटक हरुको आगमन उत्साहजनक देखिएको बताउनुभयो ।