विद्युतका आयोजनामा पनि वनको अवरोध, सट्टा जग्गा दिन नसक्दा एक वर्षदेखि अवरुद्ध

 

काठमाडौँ / रूख काट्ने आदेश नपाउँदा राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी करिडोर प्रसारण लाइन निर्माण एक वर्षदेखि अवरुद्ध छ । 

प्रसारण लाइन क्षेत्रमा पर्ने म्याग्दीको दानादेखि पर्वतको खुर्कोटसम्मको २।५८ हेक्टर वनक्षेत्र भोगाधिकार र त्यहाँ रहेका रूख काट्न दुईवटै जिल्लाका वन कार्यालयले आयोजनालाई अनुमति दिएको छैन । १३ पुस ०७४ को मन्त्रिपरिषद् बैठकले भने वनक्षेत्र रहेको जग्गा भोगाधिकार र त्यहाँ रहेका ४ हजार २ सय ८ रूख काट्न स्वीकृति दिएको थियो ।  

तर, जिल्ला वन कार्यालयले सट्टा जग्गा उपलब्ध नगराउँदासम्म रूख काट्न र जग्गा भोगाधिकार गर्न अनुमति दिन मानेन । जसले गर्दा २२० केभी क्षमताको प्रसारण लाइनको ३० वटा टावर स्थापनाको काम रोकियो । 

जग्गाको सट्टा आवश्यक रकम उपलब्ध गराउने सर्तसमेत वनले नमानेपछि वन क्षेत्रमा जोडिएको जग्गा खरिद गर्न बोलपत्र आह्वान गरिएको आयोजना प्रमुख चन्दनकुमार घोषले बताए । एसियाली विकास बैंकको सहयोगमा सन् २०१६ मा सुरु भएको आयोजना लक्षित मिति मे २०१९ सम्म निर्माण सम्पन्न नहुने देखिएको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।