भरतपुर महानगरको किरणगञ्ज रानीपोखरीमा पार्क बन्ने ।

चितवन , ८ फागुन । भरतपुर महानगरपालिका वडा नम्बर १९ र २० मा पर्ने किरणगञ्ज, रानीपोखरीमा रमणीय पार्क बन्ने भएको छ । सहरी विकास मन्त्रालयको सघन सहरी विकास कार्यक्रमअन्तर्गत भरतपुर–१९ स्थित रानीपोखरीमा पहिलो चरणमा पार्क तथा पूर्वाधार निर्माणका लागि दुई वर्षभित्रै निर्माण सम्पन्न गर्ने गरी रविना कन्स्ट्रक्सनले १४ करोड ६७ लाख ७६ हजार ६१९ रुपैयाँको लागतमा बनाउने ठेक्का पाएको रानीपोखरी संरक्षण समितिका अध्यक्ष सुरेन्द्र गुरूङले बताए । रानीपोखरीमा पार्क तथा पूर्वाधार निर्माणको आयोजनाका लागि नौ करोड ४५ लाखबराबरको सम्झौता भइसकेको र पहिलो चरणमा पार्क बन्नुका साथै रानीपोखरीको बीचमा बाराहीको मन्दिर, भ्यू–टावरलगायतका पूर्वाधार निर्माणका योजनासाथै भरतपुर–१९, किरणगन्जमा रानीपोखरी तथा मिलडाँडा जोड्ने ५ किमी कालोपत्रे सडक पनि बन्ने अध्यक्ष गुरूङले जानकारी दिए । भरतपुर महानगरपालिका वडा नं १९ र २० मा पर्ने शारदानगर, किरणगञ्जमा रहेको यो पोखरी चितवनमा आधुनिक बसोवास सुरू हुनुअघि नै निर्माण भएको स्थानीयहरु बताउँछन् । उक्त पोखरीमा पर्यटन विस्तारका लागि स्थानीयहरु जुट्न थालेका छन् । रानीपोखरी विकास तथा संरक्षण समितिले तालमा बुधबारबाट डुंगा सयरको सुविधा ल्याएको छ । ‘यसको कुल क्षेत्रफल चार बिघा हो, पोखरीमात्रै दुई बिघाको छ । झन्डै दुई बिघा क्षेत्रफल रहेको यस पोखरीमा खुट्टाले पाइडल चलाउनुपर्ने दुईवटा डुंगा छन्’, रानीपोखरी विकास तथा संरक्षण समितिका अध्यक्ष सुरेन्द्र गुरूङले भने । सदरमुकाम भरतपुरबाट १३ किलोमिटर मात्र टाढा भए पनि प्रचारप्रसार नहुँदा सो ठाउँ ओझेलमा छ । गत वर्ष प्रस्तर ढुंगाको मूर्तिकलासम्बन्धी राष्ट्रिय कार्यशाला सञ्चालन भएपछि सो ठाउँ चर्चामा छ । कार्यशालामा आएका राष्ट्रियस्तरका मूर्तिकारहरुले बनाएका ढुंगाका आकर्षक २५ वटा मूर्तिहरु सोही पोखरीवरपर राखिएको छ । पोखरीको डिलमा हिँड्नका लागि कंक्रिटले ढलान गरेर बाटो बनाइएको छ । जस्ताले छाएका टहरा र मन्दिर तथा गुम्बा पनि छन् । फलामका र कंक्रिटका कुर्सीहरु ठाउँठाउँमा छन् । आकर्षक हात्तीको मूर्ति पनि पोखरी परिसरमा देख्न सकिन्छ । ‘घुमेर आनन्द लिन सकिने ठाउँ हो यो, पूर्वाधारहरु पनि धेरै नै बनेका छन्, यो एउटा राम्रो पिकनिक स्पट हो । खानेपानीको अभाव नहोस् भन्नका लागि बोरिङसमेत धसाएका छौँ, चारतले भ्यू–टावर पनि बनाउँदै छौँ’, समितिका अध्यक्ष सुरेन्द्र गुरूङले भने । राणाकालमा तयार भएको विश्वास गरिएको यो पोखरी यसअघि चर्न आएका गाइभैँसीले पानी खाने ठाउँ थियो । वरपर नौवटा थुम्काहरु छन् । यो पोखरी प्राकृतिकरुपमा बनेको नभएर कसैले खनेको जस्तो देखिन्छ । पानी सधैँ पर्याप्त हुन्छ । यो कहिले बन्यो यसै भन्न सकिँदैन । यस क्षेत्रमा विसं २०१३ सालमा बस्ती बसेको हो । त्यो बेलामा नै यो पोखरी थियो ।