नेपाल बिधार्थी संघ चितवनको ध्यानाकर्षण ।


चितवन , २९ माघ । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ चितवनले यातायातका सवारीसाधनमा विद्यार्र्थी छुट नदिएको भन्दै चितवन प्रशासनको ध्यानाकर्षण गराएको छ । सोमबार नेविसंघ केन्द्रीय सदस्य सरोज रेग्मीको नेतृत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतलाई ज्ञापनपत्र बुझाउँदै सार्वजनिक सवारी साधनले बिद्यार्थीहरुलाई छुट नदिएको भन्दै यसको कार्यान्वयनका लागि माग गरेको हो । सार्वजनिक सवारी साधनले मनपरी भाडा अशुल गर्दै आएको भन्दै यसलाई रोक्न पनि नेबिसंघले माग गरेको छ । अटोरिक्साहरुले आफुखुसी भाडा अशुली गर्दै आएको भन्दै यसलाई नियनत्रणमा नलिए सर्बसाधारण मारमा पर्ने नेविसंघको ठहर रहेको छ ।
यता, कृषि प्रधान देशमा उत्पादनले बजार नपाएको प्रति पनि नेविसंघले चिन्ता व्यक्त गरेको छ । जिल्लामा उत्पादित वस्तुले बजार नपाउनु र अन्य क्षेत्रबाट ती खाद्यान्न ल्याईनुले जिल्लाका कृषक मारमा परेको भन्दै ज्ञापन पत्रमा बिचौलिया नियन्त्रणका लागि समेत माग गरिएको छ । कृषि तथा वन विज्ञान बिश्व बिद्यालयका पदाधिकारी तथा कर्मचारीहरुले सरकारी सवारी साधनको दुरुपयोग गरेको भन्दै नेबिसंघले आपत्ति जनाएको छ । सरकारी सम्पतिमा नीजि नम्बर प्लेट राख्ने र सार्वजनिक विदाकोे दिन समेत सञ्चालन गर्ने गरेको भन्दै यसलाई रोक्न प्रशासनलाई पहल चाल्न समेत आग्रह गरेको छ । नेबिसंघको ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी बस्नेतले विद्यार्थीले उठाएका जायज मागहरुको सम्बोधनका लागि काम अघि बढाउने प्रतिक्रिया दिएका छन् ।