सुरु भयो आजबाट चितवनको सौराहामा १३ औं फुड फेष्टिवल

चितवन, माघ २८/ चितवनको सौराहामा आज (सोमबार) देखि १३ औं सौराहा फुड फेष्टिवल सुरु भएको छ ।

फेष्टिवलको पूर्व अर्थमन्त्री तथा प्रतिनिधि सभा सांसद सुरेन्द्र पाण्डेले उद्घाटन गरे । उद्घाटन पूर्व निकुञ्ज प्रवेशद्धारबाट निकालिएको शोभा यात्राले सौराहा परिक्रमा गरिएको थियो ।
फेष्टिवलको उद्घाटन गर्दै नेता पाण्डेले सौराहाको विकासका लागि सिटि हल निर्माणको काम सुरु भइसकेको बताए । भ्यालेन्टाइन डे को अवसरमा रेष्टुरेण्ट एण्ड बार एशोसियन(रेवान) सौराहाले फेष्टिवलको आयोजना गरेको हो ।

उद्घघाटन कार्यक्रममा प्रदेश सभा साँसद कृष्णप्रसाद खनाल,जिल्ला समन्वय समितिका अध्यक्ष कृष्णकुमार डल्लाकोटी, मेयर नारायण वनलगाएतले मन्तब्य राखेका थिए ।

फेष्टिवल सौराहा नजिक रहेको सिसुवार खेल मैदानमा सुरु भएको हो । फेष्टिवलमा ५० वटा खानाको स्टल र ५ वटा प्रदर्शनी स्टल रहेको संयोजक ध्रुव गिरीले बताए । फेष्टिवलमा विदेशीसहित विभिन्न जातजातीका परम्परागत खाना राखिएको छ । फेष्टिवल परिसरमा थारु समुदायको परम्परागत घर बनाएर सो घरबाट चिचर र घोँगी खाने व्यवस्था मिलाइएको संयोजक गिरीले जानकारी दिए ।

संस्कृति संरक्षणसंगै स्थानीय स्तरमा उपलब्ध हुने खानाको गुणस्तर वृद्धि गर्ने फेष्टिवलको अर्को उद्देश्य रहेको गिरीले बताए । यसवर्ष फेष्टिवलमा प्लाष्टिकको प्रयोग न्यूनीकरण गरिएको छ । फेष्टिवलमा प्रथम मेयर कप भलिवल प्रतियोगिता, रेष्टुरेन्टका कर्मचारी बीच बेटर रेस, प्रेमपत्र लेखन, बालबालिका बीच बेलुन फुटाउने, उत्कृष्ट खाना, घैला रंगाउने प्रतियोगिता गरिने रेवान सौराहाका अध्यक्ष गोकर्ण गिरीले बताए ।

फेष्टिवलबाट भएको आन्दानीबाट वडा नं ५,६,७ र ८ का आर्थिक अभावले विद्यालय जान नपाएका बालबालिकालाई शिक्षा प्रदान गर्न कोष निर्माण गर्ने, उज्यालो सौराहा कार्यक्रमलाई निरन्तरता दिने, घुम्ती शौचालय सञ्चालन गर्ने, सौराहाको सरसफाईको ५ प्रतिशत रकम विनियोजन गरिनेछ ।

फेष्टिवल उद्घाटन कार्यक्रममा रेवान सौराहाले ह्वील चियर प्रयोगकर्ताहरु जीवन चौधरी, डोनिस तामाङ र सुखाडी माझीलाई ह्वीलचियर प्रदान गरेको थियो । उद्घाटन कार्यक्रममा वीरगञ्ज स्थित भारतीय महाबाणिज्य दुतावासका महावाणिज्य दुत रमेश चर्तुर्वेदी, वडा नं ६ का वडा अध्यक्ष बलराम दाहाल, मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष बासु ढुंगाना, रेवान महिला समूहकी अध्यक्ष माला दाहाल, नारी चेतना बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष विविता चौधरी लगायतले समेत मन्तव्य राखेका थिए ।

रेवान सौराहाका अध्यक्ष गोकर्ण गिरीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा फेष्टिवलका संयोजक ध्रुव गिरीले स्वागत मन्तव्य राखेका थिए ।