अब गरीबले उपचार नपाएर मर्न पर्दैन : प्रचण्ड

माघ २८, सिराहा । नेकपा अध्यक्ष प्रचण्डले संविधानमै शिक्षा र स्वास्थ्यलाई जनताको मौलिक अधिकार अन्र्तगत राखिएको बताउँदै अब गरीबले उपचार नपाएर मर्नु नपर्ने बताएका छन् । सरकारले गरीबको उपचार नगरे मुद्दा हाल्न सकिने प्रचण्डको भनाइ छ ।
सिरहाको अर्नमा गाउँपालिका वडा नम्बर(१ महनौरमा निर्मित स्वास्थ्यचौकीको आज सोमबार उदघाटन गर्दै प्रचण्डले भने( ‘अहिले सरकारले मौलिक अधिकार कार्यान्वयनको प्रक्रिया सुरु गरेको छ । उपचार नपाएर गरिबीका कारण अब कोही मर्नुपर्ने छैन । गरीबको उपचार सरकारले गर्नेछ, नगरे अदालतमा मुद्दा दिन पाइन्छ ।’
‘मधेसको विकासमा शंका नगर्नोस्’
प्रचण्डले मधेसी जनताको अधिकारको पक्षमा संविधान संशोधनका लागि लगातार पहल गरिरहेको बताएका छन्
प्रचण्डले नेकपाको सरकारले मधेसको विधासमा ध्यान दिँदैन कि भनेर शंका नगर्न सिराहाबासी समक्ष आग्रह गरे ।
‘नेकपाले मधेसमा पूर्वाधार निर्माणका प्याकेज अगाडि सारेको छ’ प्रचण्डले भने, ‘तराई मधेसको निम्ति झण्डै तीन अर्ब रुपैयाँको विशेष व्यवस्था भइसकेको छ ।’
सिँचाई र खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि सम्बन्धित मन्त्रालयमा कुरा राखेको प्रचण्डको भनाइ थियो । साथै उनले सिराहालाई आँपको जोनका रुपमा विकास गर्न पहल गर्ने समेत बताए । धानखेतीमा पनि सिराहा उर्बर जिल्ला रहेको बताउँदै उनले यसलाई धानको सुपरजोनका रुपमा विकास गर्न आफ्नो तर्फबाट सहयोग रहने प्रतिवद्धता व्यक्त गरे ।
पूर्वाधार विकास, उत्पादन वृद्धि, रोजगारी सृष्टि, निर्यात बढाउने र आयात घटाउने काममा पार्टी र सरकार लागिपरेको प्रचण्डको भनाई छ ।