देवघाटलाई सांस्कृतिक पर्यटकिय क्षेत्रको रुपमा विकास गर्नुपर्ने

चितवन / राष्ट्रपति विद्यादेवी भण्डारीले देवघाटलाई सांस्कृतिक पर्यटकिय क्षेत्रको रुपमा विकास गर्नुपर्नेमा जोड दिएकी छन् ।
राष्ट्रपति भण्डारीले देवघाटलाई सांस्कृतिक पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न सकिने प्रसस्त सम्भावना भएकाले यसतर्फ ध्यान दिनुपर्ने बताएकी हुन् । उनले संस्कृत शिक्षालाई सामाजिक र आधुनिकीकरण गर्न आवश्यकता रहेको बताएकी छन््। देवघाटमा रहेको महेश सन्यास आश्रम एवंम संस्कृत गुरुकुलमको रजत महोत्सवको अवसरमा आयोजित विराट ज्ञानमहायज्ञको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले देवघाटमा गुरुकुल शिक्षा चलाएर नेपालको मौलिक संस्कृतिको संरक्षणमा लागेको भन्दै गुरुकुलहरूको प्रशंसा गरेकी छन् । यसलाई समयानुकुल बनाउँदै अघि बढाउनुपर्नेमा राष्ट्रपति भण्डारीको सुझाव छ ।

उनले गुरुकुल शिक्षाको नैतिक आचरण, व्यवहार र अनुशासनले मानिसको जीवनलाई समाज कल्याणउन्मुख बनाउँदै लैजाने भएकोले नयाँ पुस्तामा संस्कृत पठनपाठनको महत्व उजागर गर्नसके सभ्यता र संस्कृति भित्रका असल मूल्य मान्यता प्रस्फुटित हुने बताएकी छन् ।

राष्ट्रपति भण्डारीले सो क्रममा आश्रमको नवनिर्मित भवनको पनि उद्घाटन गरेकी छन् । नवनिर्मित भवनमा कक्षा ६ देखि आचार्यसम्मको पठनपाठन हुने जनाइएको छ । महेश सन्यास आश्रम तथा महेश गुरुकूलको रजत वर्ष एवं १००८ डा स्वामी रामानन्द गिरिजी महाराजको पूण्यतिथिको अवसरमा महायज्ञ गर्न लागिएको हो ।

सो गुरुकूलमा कक्षा ६ देखि आचार्यसम्म अहिले ३०० जना विद्यार्थी अध्ययनरत छन् । महायज्ञ फागुन १ गतेसम्म चल्नेछ । यसअघि गुरुकूलले विसं २०६५ मा पहिलोपटक विराट ज्ञान महायज्ञको आयोजना गरेको थियो । आजको भण्डाफोरबाट