निशुल्क मुटु परीक्षण शिविर


चितवन, १५ माघ/मुटुका बिरामीहरुलाई लक्षित गर्दै विभिन्न संघसंस्थाको आयोजनामा निशुल्क मुटु परीक्षण शिविर सञ्चालन गरिएको छ । चितवन, नवलपुर र तनहूँका विभिन्न पाँच स्थानमा सञ्चालन हुने शिविर चितवनको भरतपुर महानगरपालिका वडा नम्बर २९ बाट सुरुआत गरिएको छ । नेशनल हर्ट हण्ड लंग्स् सोसाइटी, हर्ट फण्ड नेपाल, चेक हर्ट फाउन्डेशन युरोपको आयोजनामा सञ्चालन भएको शिविरमा पाँच दिनमा आठ सय भन्दा बढीको मुटु परीक्षण गरिने स्थानीय आयोजक लायन्स क्लब अफ नारायणगढ बालकुमारीका अध्यक्ष बालगोपाल चुकेले बताए । शिविरको स्थानीय आयोजकको रुपमा लायन्स क्लब अफ नारायणगढ बालकुमारी, लायन्स क्लब अफ नारायणगढ नारायणी, एभरेष्ट बचत तथा ऋण सहकारी संस्था, नारायणी मोटर्स, एबिसी नारायणी मोटर्स प्रालि गैंडाकोट, रोट¥याक्ट क्लब अफ भरतपुर रहेका छन् । सोमबार भरतपुर २९ बाट सुरु भएको शिविर १५ गते नवलपुरको गैंडाकोट, १६ गते चितवनको चैनपुर, १७ गते शारदानगर तथा १८ गते तनहूँको पुर्कोट माविमा हुने बताइएको छ । नेशनल हर्ट हण्ड लंग्स् सोसाइटीका सचिव मुटुरोग विशेषज्ञ डाक्टर कौशल तिवारीको नेतृत्वमा स्वदेशी तथा विदेशी गरि १० जना चिकित्सकहरुले मुटुको चेकजाँच गरिरहेका छन् । आर्थिक अवस्था कमजोर भएका समुदायलाई लक्षित गर्दै बर्सेनि इको सेवा सहितको निशुल्क मुटु परीक्षण शिविर सञ्चालन गरिदै आएको डाक्टर तिवारीले बताए ।

एथलेटिक्सको रेफ्री तालीम सुरु

चितवन जिल्ला एथलेटिक्स संघको आयोजनामा एथलेटिक्सका रेफ्री उत्पादन गर्ने उद्देश्यले भरतपुरमा तालीम सुरु गरिएको छ । एथलेटिक्स खेलका खेलाडी तथा खेलकुद शिक्षक गरि ३० जना सहभागी रहेको तालीममा एथलेटिक्सका वरिष्ठ प्रशिक्षक सुशील नरसिंह राणा तथा नेपाल एथलेटिक्स महासंघका पूर्व महासचिव सुनील राजवंशीले प्रशिक्षण दिँदैछन् । सोमबार सुरु भएको दुई दिने प्रशिक्षणको उद्घाटनका क्रममा प्रमुख प्रशिक्षक राणाले एथलेटिक्सका रेफ्रीहरुको संख्या न्यून रहेको बताए । रेफ्रीहरुले राम्रोसँग प्रशिक्षण लिएर तालीममा सिकेका ज्ञानलाई व्यवहारमा लागू गर्न सकेको अवस्थामा उनीहरुको भविष्य राम्रो भएको राणाले बताए । नेपालमा नै एथलेटिक्स खेलका ३० जना मात्रै रेफ्री रहेका उल्लेख गर्दै राणाले यो तालीमबाट उत्कृष्ट हुने रेफ्रीलाई राष्ट्रिय खेलकुद प्रतियोगितामा समेत सहभागी गराउन सकिने बताए । अहिले लिएको प्रशिक्षणबाट अन्तर्राष्ट्रिय रेफ्री कोर्षका लागि समेत टेवा पुग्ने उल्लेख गर्दै राणाले सैद्धान्तिक र व्यवहारिक दुवै तरिकाले प्रशिक्षण दिइने बताए । तालीमको उद्घाटनका क्रममा नेपाल एथलेटिक्स महासंघ महासचिव धनवीर चौधरीले जिल्लामा एथलेटिक्सको लाइसेन्स भएका रेफ्रीहरु नभएको अवस्थामा लाइसेन्स लिन तालीमले सघाउने बताए । सो कार्यक्रममा चितवन जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख रामजी ढकालले प्रशिक्षार्थीहरुको परीक्षा लिएर उनीहरुलाई प्रमाणपत्र प्रदान गरिने बताए । राष्ट्रिय खेलकुदका लागि चितवनमा नै फागुन ३ गतेदेखि एथलेटिक्स विधाको प्रदेशस्तरीय छनौट हुने भएकाले रेफ्रीको आवश्यकता पर्दा अहिले राम्रो अंक प्राप्त गर्ने प्रशिक्षार्थीलाई नै रेफ्रीको मौका दिइने ढकालले बताए । प्रदेश नम्बर २, ३ र गण्डकी प्रदेशको खेलाडीहरुको एथलेटिक्स छनौट भरतपुरमा हुने ढकालले बताए । प्रशिक्षण कार्यक्रमको उद्घाटन सत्र चितवन जिल्ला एथलेटिक्स संघका अध्यक्ष मानबहानुर रम्जालीको अध्यक्षतामा भएको थियो ।