स्वाइनफ्लु जस्ता रोगबाट मृत्युभएको खबर सरकारले लुकाएको खुलासा

अहिलेसम्म स्वाइनफ्लुका कारण मृत्यु हुनेको सङ्ख्या ५ जना


 

माघ १३, काठमाडौं । भगवती तिमल्सिना, अहिलेसम्म स्वाइनफ्लुका कारण मृत्यु हुनेको सङ्ख्या लुकाएको सरकारले नेपाल समाचारपत्रमा बिहीबार यसैबारे समाचार प्रकाशित भएपछि त्यसलाई स्वीकारेको छ । कडा खालको रुघाखोकीका कारण ५ जनाको मृत्यु भएको भनेर स्वास्थ्य मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले घुमाउरो पाराले स्वाइनफ्लुका बिरामीको मृत्यु भएको तथ्याङ्क सार्वजनिक गरेको हो ।

नेपालमा सन् २००९ मा यो रोग देखा पर्दा विश्व स्वास्थ्य संगठनले स्वाइनफ्लु भनेको थियो । अहिले पनि विभिन्न अन्तर्राष्ट्रिय जर्नलमा स्वाइनफ्लू अर्थात् फ्लू उल्लेख गरेको पाइन्छ । तर नेपाल सरकार रोग नियन्त्रण गर्नुको सट्टा शब्दमा खेलेर बसेको विज्ञहरुको आरोप छ ।

सरकारी अधिकारीको लाजमर्दो जवाफः स्वाइनफ्लुबारे जनचेतना फैलाउन पाइएको छैन

हाच्छिउ गर्दा, खोक्दा, सिंगान बग्दा, सास फेर्दा, हात मिलाउँदा समेत सर्ने यति कडा रोगले मान्छे नै मर्दा सरकार सामान्य रुघाखोकीले बिरामी मरेको भनेर बस्नु दुःखद भएको उनीहरू बताउँछन् ।

काठमाडौँका धेरैजसो अस्पतालमा बिरामीको चाप बढ्न थालेपछि चिकित्सकहरूले बिरामीका आफन्तलाई समेत फ्लुको भ्याक्सिन लिन सल्लाह दिएका छन् । केएमसी अस्पतालमा फ्लुको उपचार गराइरहेका बिरामीका आफन्तले कुरुवा बसेका आफन्तलाई खोप लगाएको बताए । उनीहरूले भने– ‘५ वर्षमुनिका बच्चा र बुढा मान्छे तथा अन्य रोगका बिरामी पनि टाढै बस्नुपर्ने रहेछ ।’

तर बिरामी रहेका आईसीयू कक्षमा ओहोरदोहोर गर्दा हुने जोखिमबारे भने सर्वसाधारण अनविज्ञ रहेको तिनै आफन्तले नेपाल समाचारपत्रलाई बताए । उनीहरूले अर्को बिरामी आएपछि भेन्टीलेटर नपाइने भएकाले पहिले नै बुक गरेर एक साताको रकम डिपोजिट गर्न दवाव दिइएको गुनासो गरे ।
तर स्वास्थ्य मन्त्रालयका एक उच्च अधिकारीले भने– ‘कर्मचारी समायोजन र सचिवको सरुवाले गर्दा स्वाइनफ्लु के हो र कसरी बच्ने भन्नेबारे जनचेतनामूलक कार्यक्रम गर्नै पाएको छैन ।’ यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।