आत्मनिर्भर नबनेसम्म देशलाई समृद्ध बनाउन नसकिने :मुख्यमन्त्री पौडेल

चितवन, माघ ७/ प्रदेश ३ का मूख्यमन्त्री डोरमणी पौडेलले आत्मनिर्भर नबनेसम्म देशलाई समृद्ध बनाउन नसकिने बताएका छन् ।
पूर्वी चितवनको खैरहनी–५ गौचरनमा भएको छैठौं खिचरा महोत्सव २०७५ को समापन समारोहलाई सम्बोधन गर्दै मूख्यमन्त्री पौडेलले कृषि प्रधान देशमा खाद्यान्न आयात गर्नुपर्ने अवस्था आउनु दुर्भाग्यपूर्ण रहेको भन्दै यो देशकै लागि ठूलो चुनौती रहेको बताए । उनले खेतबारीलाई बाझो रहन नदिन आफैले काम गरेर आत्मनिर्भर बन्नुपर्ने बताए । आयातलाई निम्ट्यान्न पारेर आत्मनिर्भर नबनेसम्म देशलाई समृद्ध बनाउन नसकिने मूख्यमन्त्री पौडेलको भनाई थियो । उनले आयात प्रतिस्थापन अन्त्य नगरेसम्म देशलाई समृद्ध बनाउन नसक्ने बताएका छन् ।
नेपालमा निर्यात भन्दा आयात बढि भएकोले यसलाई रोक्न आवश्यक रहेकोमा उनको जोड थियो ।
खिचरा महोत्सव पहिचानको मात्रै महोत्सव नभएको भन्दै यसलाई समृद्ध बनाउन तर्फ अघि बढाउन पनि कोशेढुंगा सावित हुने पौंडेलले बिश्वास ब्यक्त गरे । खिचरा महोत्सवमा हुने स्थानीय उत्पादनको प्रदर्शनीले आर्थिक कारोबार बढाउनुको साथै प्रवद्र्धन गर्न पनि महत्वपूर्ण हुने उनको भनाई छ । यस्तै उनले आफ्नो संस्कृति संरक्षणमा थारु समुदाय आफै लाग्नुपर्ने भन्दै चितवनमा थारु संग्राहलय निर्माणका लागि प्रदेश सरकारले सहयोग गर्ने बचन दिए ।
कार्यक्रममा मूख्यमन्त्री पौडेललाई थारु समुदायको स्वागत सत्कारको परम्परा मेडेठा पहिराएर स्वागत गरिएको थियो । यस्तै कार्यक्रममा बोल्दै महोत्सव आयोजक थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं.७ का अध्यक्ष चुडामणी चौधरीले थारु समुदायको महान् पर्व खिचरा (माघी)को अवसरमा गरिएको यो महोत्सव पहिचानसंग जोडिएकोले थारु संस्कृति संरक्षणमा महत्वपूर्ण योगदान दिएको बताए । उनले आगामि वर्ष महोत्सवलाई अझै परस्कृत गर्दै लैजाने प्रतिवद्धता जनाउदै महोत्सव सफल बनाउन सहयोग गर्ने सम्पूर्णमा धन्यवाद ज्ञापन गरे ।

कार्यक्रममा थारु कल्याणकारिणी सभा चितवनका पूर्व सभापति टिकेन्द्र चौधरी, मूख्यमन्त्री पौडेलका राजनीतिक सल्लाहकार जेएन थपलिया, चितवन उद्योग संघका निवर्तमान अध्यक्ष भीमबहादुर पाण्डेलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
गत् पुस २८ गतेदेखि सुरु गरेको छैठौं संस्करणको खिचरा महोत्सव सोमबार यहि माघ ७ बाट सकिएको हो ।