चलचित्र ‘गोपी’ युनिट चितवनमा, प्रचार प्रसारको लागि मोफसल यात्रामा

सुर्य बराल/ चितवन/ यहि माघ १८ गतेदेखी प्रदर्शनमा आउन लागेको नेपाली कथानक चलचित्र ‘गोपी’युनिट आज दिनभर चितवनमा ब्यस्त रह्यो।चलचित्रका मुख्य कलाकार बिपिन कर्की र बर्षा राउत सहित चलचित्रका लेखक सामिप्यराज तिमल्सेना तथा कार्यकारी निर्माता श्रीधर पौडेलले चलचित्र प्रचार प्रसारको क्रममा आज शनिबार चितवन आएका हुन् ।

चलचित्र प्रचार प्रसारकोकाम लिएर मोफसल यात्रामा निस्किएको युनिटले आज नारायणगढको चुल्हो रेष्टुरेण्टमा पत्रकार भेटघाटकार्यक्रमराखेको हो । चलचित्रका लेखक सामिप्यराज तिमल्सेना चलचित्र गोपी गाइपालनमा आधारित रही निर्माण गरिएकाले कृषि क्षेत्रलाई माया गर्नुपर्ने सकारात्मक सन्देश समाजमा दिन खोजेको जानकारी दिए। बिशेष गरेर पछिल्लो समय युवा वर्ग विदेशिने क्रम बढेकोले यस चलचित्रले त्यस्ता युवालाई स्वदेशमै केहि गर्न सकिने प्रेरेणा दिएको बताए ।

चलचित्रकी मुख्य नायिका वर्षा राउतले मौलिक कथामा आधारित चलचित्र सम्पूर्ण वर्गका दर्शकले हेरेर सही सन्देश लिन सकिने जानकारी दिईन् ।
यस्तै चलचित्रका मुख्य नायक गोपी अर्थात् विपिन कार्कीले विदेशको मोह त्यागी स्वदेशमै कृषिकै क्षेत्रबाट पनि सुन फलाउन सकिने सन्देश यस चलचित्रले बोकेको बताए ।
यता चलचित्रका कार्यकारी निर्माता श्रीधर पौडेलले यस चलचित्रले देशमा नै युवालाई केहि गर्न हौसला प्रदान गरेको भन्दै एक पटक सबैले चलचित्र हेर्न आग्रह गरेका थिए । युनिट आजै पश्चिम चितवनको मंगलपुर ठुलो गढी स्थित गाईपालक कृषक गोपी ढकालको घरमा पनि भेटघाट गरेको थियो। शनिबार नै चलचित्र युनिटले पूर्वी चितवनको खैरहनीमा जारी छैठौं खिचरा महोत्सवमा पुगेर चलचित्र गोपिको बारेमा जानकारी गराएका थिए ।
आरोही इन्टरटेनमेन्टका लागि आरोही केसीद्वारा निर्मित तथा दीपेन्द्र लामाद्वारा निर्देशित यो चलचित्रमा बिपिन र बर्षा सगै सुरक्षा पन्त , भोला सापकोटा, अन्कित खड्का, प्रकाश घिमिरे, रमेश अधिकारी, कुन्ती सिमली आदिको पनि अभिनय रहेको छ । सामिप्यराज तिमल्सिनाको स्क्रिनप्ले रहेको चलचित्रलाई निमेश श्रेष्ठले सम्पादन गरेका हुन्। शनिबार चितवन बस्ने चलचित्र युनिट आईतबार चितवनको विभिन्न ठाउँ घुम्दै बुटवल हुदै पोखरासम्म गोपीको प्रचार गर्दै पुग्ने कार्यक्रम रहेको चलचित्र युनिटले जानकारी गराएको छ ।