चितवन महोत्सवको ६० हजार दर्शकद्वारा अवलोकन

चितवन, २ माघ/ नारायणगढको नारायणी नदी किनार प्रदर्शनी मैदानमा सञ्चालन भइरहेको १२औँ चितवन महोत्सव मंगलबार सबैभन्दा बढी दर्शकहरुले अवलोकन गरेका छन् । मंगलबार माघे सङ्क्रान्ति पर्व समेत परेकाले देवघाट स्नान गर्न आएका व्यक्तिहरु महोत्सवस्थल प्रवेश गर्दा दर्शकहरुको भीड अत्यधिक बढेको हो । चितवन महोत्सवका मूल संयोजक सहनलाल प्रधानका अनुसार मंगलबार मात्रै ६० हजार भन्दा बढी दर्शकले महोत्सव अवलोकन गरेका छन् । चितवनको गौरव र गरिमामय प्रस्तुतीको रुपमा प्रत्येक दुई÷दुई वर्षमा आयोजना हुँदै आएको चितवन महोत्सवमा पछिल्लो वर्षहरुमा दर्शकहरुको सहभागिता बढ्दै गइरहेको छ । महोत्सव परिसर भित्र रहेका सांस्कृतिक भवन, फन पार्क, कृत्रिम चिडियाघर तथा जलयात्रामा दर्शकहरुको सहभागिता अत्यधिक रहेको थियो । मंगलबारको सांस्कृतिक कार्यक्रममा कलाकार चेतन सापकोटा र जीवी सुनार अतिथि कलाकारको रुपमा आएका थिए । त्यस्तै आइएसटी इन्टरनेशनल फेशन कलेजको फेशन सो समेत भएको थियो भने राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतियोगिता समेत भएको छ । स्थानीय कलाकारहरुको प्रस्तुतीका साथै नारायणी कला मन्दिरका कलाकारहरुले प्रस्तुती राखेका थिए । बुधबार महोत्सवमा सांस्कृतिक कार्यक्रम सहित जादुगर बलराम सरकार, राजनराज शिवाकोटी, ग्रीस्मा शिवाकोटीको प्रस्तुती रहनेछ । त्यस्तै, अन्तरविद्यालय नृत्य प्रतियोगिता समेत हुने आयोजकले जनाएको छ । त्यस्तै, आदिवासी जनजातिको भेषभूषा प्रदर्शन गरिनुका साथै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतियोगिताको फाइनल पनि बुधबार नै हुनेछ । उद्योग वाणिज्य संघ–चितवन, भरतपुर महानगरपालिका र जिल्ला समन्वय समिति चितवनको संयुक्त आयोजनामा नारायणी नदी किनारमा महोत्सव सञ्चालन भइरहेको छ । महोत्सवमा यस पटक ५ सय ७० वटा स्टल रहेका छन् । महोत्सवमा मेड इन नेपाल परिसर, अटो परिसर, सूचना तथा प्रविधि परिसरको छुट्टै आकर्षण रहेको छ । महोत्सव परिसरमा आदिवासी जनजातिको पहिचान झल्कने नमुना घरहरु बनाइएका छन् । यस पटकको महोत्सवमा चेपाङ, कुमाल, बोटे र दराई जातीको पहिचान झल्कने घर निर्माण गरिएका छन् । करिव पाँच लाख दर्शकले अवलोकन गर्ने लक्ष्य लिइएको महोत्सवमा करिब २५ करोडको रुपैयाँको कारोबार हुने आयोजकको अनुमान छ ।