चितवन महोत्सव २०७५ को तयारी अन्तिम चरणमा

भोली बुधबार पुर्ब प्रम प्रचण्डले उदघाटन गर्दै

प्रमिता ढकाल /पुस २४/भरतपुर
१२ औं चितवन महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । उद्योग वाणिज्य संघ–चितवन, भरतपुर महानगरपालिका र जिल्ला समन्वय समिति चितवनको संयुक्त आयोजनमा हुन लागेको महोत्सवकालागि प्रदर्शनी स्थल नारायणी नदी किनारमा महोत्सवको अन्तिम तयारी तिव्र पारिएको छ । निकै आकर्षक साजसजावटसहित तयार भइरहेको नारायणी नदीकिनारको प्रदर्शनी स्थलमा यस पटक ५ सय ९० वटा स्टल रहने भएकाछन् । स्टल धेरै भएकाले परिसर विगतमा भन्दा फराकिलो बनाइएको छ । महोत्सव सुरु हुन एक दिन बाँकी रहंदा महोत्सव परिसरमा स्टल बुक गरेकाहरुले सामान ल्याउन थालेकाछन् । होटल, नर्सरी अटो पसिरका पदर्शकहरुले सामानहरु ल्याएको महोत्सव परिसर निर्माण समिति संयोजक भोजराज कौडेलले बताए ।
पौष २५ देखि माघ ४ गतेसम्म सञ्चालन हुने महोत्सवको शोभायात्रामा ३०० भन्दा बढी संघसंस्था सहभागि हुने भएकाछन् । चितवनको गौरव र गरिमामय प्रस्तुतिका रुपमा रहँदै आएको चितवन महोत्सवको शोभायात्रामा सहभागिता जनाउन आग्रह गर्दै २०० बढीलाई पत्र काटिएको छ । पत्राचार गरेका बाहेक पनि धेरैले स्वेच्छाले नाम टिपाएको हुँदा शोभायात्रामा उल्लेख्य सहभागिता हुनेमा ढुक्क रहेको शोभायात्रा व्यवस्थापन समिति संयोजक रजनी मास्केले बताइन् ।
महोत्सव परिसर प्रवेश द्धार देखिनै यस संस्करणको भव्यता देख्न पाइनेछ । महोत्सवको मूल प्रवेशद्धारमा चितवनको पहिचान झल्काउने पहल गरिएको छ । १२ औं संस्करणको महोत्सवलाई भ्रमण वर्ष २०२० लक्षित गर्दै गर्दा प्रवेशद्धारमा पनि त्यसको झल्को देख्न सकिन्छ । चितवनका १० पर्यटकिय गन्तव्यको तस्विर सहितको जानकारी प्रवेशद्धारमा राखिएको छ । चितवन महोत्सव परिसरबाट नगरवनसम्म जिप सफारीको समेत व्यवस्था गरिएको छ ।
महोत्सवमा हरेक संस्करणमा आकर्षणको केन्द्र बन्ने आदिवासी जनजातीको पहिचान झल्कने नमुना घरहरुको निर्माण र प्रदर्शनले यस पटक पनि निरन्तरता पाएको छ । आदिवासी जनजाती महासंघ चितवनको संयोजनमा महोत्सव स्थल नारायणी नदी किनारमा आदिवासी जनजातीको पहिचान झल्कने घर निर्माण गरिएकछन् । घरमा आदिवासीको रहनसहन , उनीहरुले प्रयोग गर्ने भाँडा वर्तन , सांस्कृतिक पहिचान झल्कने भेषभूषा समेत प्रर्दशनीका लागि राखिनेछन् । यस पटकको महोत्सवमा चेपाङ, कुमाल, बोटे र दराई जातीको पहिचान झल्कने घर निर्माण गरिएको छ ।
२०५३ सालदेखि दुई वर्षको अन्तरालमा महोत्सव आयोजना हुँदै आएको छ । यस पटक महोत्सव करिव ५ लाख दर्शकले अवलोकन गर्ने लक्ष्य लिइएको छ । महोत्सवमा करिव २५ करोडको कारोबार हुने अनुमान गरिएको छ ।
महोत्सवको भोली बुधबार ११ बजे पुर्ब प्रधानमन्त्री समेत रहनुभएका नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्नुहुनेछ ।