चितवनको पदमपोखरीमा डेढ करोडको लागतमा आयुर्वेदिक औषाधलय निर्माण हुँदै,

मेयर दाहालले गरिन् शिलान्यास ।

 

प्रनिश थापा , चितवन , २३ पौष । चितवनको भरतपुर महानगरपालिका वडा नम्बर २२ पदमपोखरी स्थित मधुपुरीमा आयुर्वेद औषधालयको निर्माण हुने भएको छ । झन्डै एक करोड ७८ लाख ७२ हजार रुपैयाँ लागतमा तीन कठ्ठा जग्गामा आयुर्वेद औषधालयको भवन निर्माण हुन लागेको हो । स्वास्थ्य मन्त्रालयबाट उपलव्ध भएको बजेटले विशेषज्ञसहितको सेवा दिने उद्देश्यले निर्माण गरिन लागिएको आयुर्वेदिक अस्पतालको भवन भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले शिलान्यास गरेकी थिइन् । शिलान्यास कार्यक्रममा भरतपुर महानगरपालिकाका प्रमुख दाहालले गाउँमा आयुर्वेद औषधालय खोल्नु ज्यादै सकारात्मक कुरा भएको बताइन् । ‘महानगरले गाउँको विकासलाई प्राथमिकता दिइरहेको छ ।’ उनले भनिन्, औषधालय बाहेक पश्चिम चितवनमै क्रिकेट रंगशाला, महिला प्राविधिक शिक्षालय , प्रहरी विद्यालय निर्माण गर्न लागिएको छ । आयुर्वेद औषधालयको निर्माण ड्रागन सेवालय जेवीले सुरू गरेको छ । औषधालय निर्माणको अवधि १८ महिना रहेको भरतपुर महानगरपालिकाका वर्डा नम्बर २२ का वडाध्यक्ष विष्णुराज महतोले जानकारी दिए । उनले भने, ‘निर्माणको अवधि १८ महिना राखे पनि हाम्रो उद्देश्य ६ महिनामा सक्ने हो, निर्माण पक्षले पनि त्यति अवधिमा सक्ने बताएको छ ।’ उनका अनुसार बजेट परिसकेका कारण निर्माणमा अल्झनुपर्ने कुनै कारण छैन । औषधालय योगा कक्षसहित कम्तीमा २० शैयाको हुने वडाध्यक्ष महतोले जानकारी दिए । उनले भने, ‘निर्माण त पुस २५ गतेबाट सुरू हुनेछ ।’ सो ठाउँमा अहिले पनि आयुर्वेद औषधालय छ, तर सुस्त गतिमा चलिरहेको छ । ‘सामान्यरुपमा औषधालय चलिरहेको छ, भवन सानो छ, अब नयाँ भवन बनेपछि औषधालय मजबुद बन्नेछ’, वडाध्यक्ष महतोले भने, ‘विशेषज्ञदेखि कर्मचारीहरु थपिन्छन् ।’ सो ठाउँमा २०४० सालमा औषधालय निर्माण भएको हो । उनका अनुसार हाल चलिरहेको आयुर्वेदिक अस्पतालमा ५ जना कर्मचारी रहेका छन् । दैनिक ओपीडी सेवा पनि चलिरहेको छ ।