छेच्यु थर्पलिङ गुम्बामा पाँच दिने प्रज्ञा पारमिता तथा ह्युम वाचन शान्ति ज्ञान महायज्ञ सुरु ।

पुष २० । भरतपुर महानगरपालिका वडा नम्बर ११ भोजाडमा रहेको छेच्यु थर्पलिङ गुम्बामा पाँच दिने प्रज्ञा पारमिता तथा ह्युम वाचन शान्ति ज्ञान महायज्ञ सुरु भएको छ । आगामी पुष २४ गतेसम्म हुने महायज्ञबाट भएको आम्दानीले गुम्बाको भवन निर्माण गरिने आयोजकले जनाएको छ । महायज्ञको उद्घाटन गर्दै ३ नम्बर प्रदेशसभा सदस्य विजय सुवेदीले बुद्ध दर्शनलाई पाठ्यक्रममा राख्नुपर्ने बताए । बुद्ध दर्शन विद्यालय तहको पाठ्यक्रममा समावेश भएको खण्डमा समाजमा हुने हत्या, हिंसा, बलात्कारजस्ता जघन्य अपराधका घटनाको न्यूनीकरण हुने सुवेदीले बताए । नेपालमा जन्मिएका बुद्धको बारेमा विदेशमा जति प्रचार प्रसार भएको छ त्यति नेपालमा नभएको उल्लेख गर्दै सुवेदीले बुद्ध र बुद्ध दर्शनको बारेमा नेपालबाट व्यापक प्रचार प्रसार गर्न सकेको खण्डमा नेपालको नाम विश्वमा अग्रपंक्तिमा आउने बताए । बुद्ध धर्म वैज्ञानिक धर्म भएको उल्लेख गर्दै सुवेदीले बुद्ध धर्मसँग सम्बन्धित कला र संस्कृतिको संरक्षण गर्नुपर्ने बताए । गुम्बा भवन निर्माणको लागि आर्थिक संकलनसँगै धर्म तथा संस्कृति संरक्षणको लागि महायज्ञ गरिएको छेच्यु चर्पलिङ गुम्बा संघका अध्यक्ष पञ्चबहादुर तामाङले बताए । आर्थिक समस्याले भवन निर्माण कार्यले पूर्णता पाउन सकेको उल्लेख गर्दै तामाङले महायज्ञबाट संकलन भएको रकमबाट साढे दुईतले भवन निर्माण गर्ने बताए । गुम्बाको गुरूयोजनाअनुसार अबको बाँकी काम सम्पन्न गर्नको लागि दुई करोड रूपैयाँ भन्दा बढी रकम आवश्यक रहेको तामाङले बताए । समाजमा बढ्दै गएको हिंसात्मक घटना कम गर्नको लागि पनि महायज्ञ आवश्यक भएको चितवन जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गंगालाल लामाले बताए । मुलुक गणतन्त्रमा गएर धर्मनिरपेक्षा घोषणा गरिएपछि सबैभन्दा बढी धर्म परिवर्तन भएको उल्लेख गर्दै लामाले बुद्ध धर्मावलम्बीहरुलाई ईसाई धर्ममा परिवर्तन गराइएको बताए । प्रलोभनमा पारेर धर्म परिवर्तन गराइएकोले यसको अन्त्यका लागि राज्यले विशेष पहल गर्नुपर्ने लामाको भनाइ छ । महायज्ञमा टुल्कु (अवतारी) लामा गुरू लोसाङ नाम्ग्याल रिन्पोछेका साथै अन्य विभिन्न लामा गुरू गरि २५ जनाभन्दा बढी धर्मगुरूहरूमार्फत दैनिक प्रवचन हुँदैछ । कार्यक्रममा ३ नम्बर प्रदेशसभा सदस्य पार्वती सिलवाल, भरतपुर महानगरपालिका वडा नम्बर १० का कार्यवाहक अध्यक्ष बलराम जिसी, जिल्ला पाख्रिन समाज चितवनका अध्यक्ष ज्ञानबहादुर पाख्रिन, नवजागृति सामुदायिक वनका उपाध्यक्ष भरत अधिकारी, आदिवासी जनजाति नगर समन्वय समितिका अध्यक्ष अजयकुमार तामाङलगायतले मन्तव्य राखेका थिए । छेच्यु चर्पलिङ गुम्बा संघका अध्यक्ष पञ्चबहादुर तामाङको अध्यक्षतामा भएको प्रज्ञा पारामिता तथा ह्युम वाचन शान्ति ज्ञान महायज्ञमा संघकी उपाध्यक्ष दिलमाया लामाले स्वागत गरेकी थिइन् ।