सकियो उपरदाङ्गगढीको दुईदिने अवलोकन भ्रमण


भरतपुर÷चितवन उद्योग संघको पहलमा पर्यटकीय दृष्टिकोण एवं ऐतिहासिक धरोहरको रुपमा विकसित हुँदै गएको उपरदाङ्गगढी (किल्ला) को दुईदिने अवलोकन भ्रमण सम्पन्न भएको छ । जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु, सरकारी कार्यालयका प्रमुखहरु, विभिन्न पर्यटनसँग सरोकार राख्ने संघ–संस्था, स्थानीय सरोकारवाला निकायहरु, उद्योगीहरु गरी करीब पाँच दर्जनको सहभागितामा उक्त गढीको अवलोकन गरिएको होे ।
नेपाल एकीकरणपछि सामरिक दृष्टिकोणले ‘अग्लो ठाउँ सुरक्षित हुने’ भन्दै पृथ्वीनारायण शाहका नाति तथा उपरदाङ्गढी क्षेत्रका तत्कालीन प्रशासक शत्रुभञ्जन शाहले वि.सं १८५७ मा गढीको स्थापना गरेको जानकारहरू बताउँछन् । १९६० सालसम्म सोही किल्लालाई चितवनको सदरमुकामका रूपमा पनि प्रयोग गरियो । चारैतिर भिरालो जमीन र बीचमा रहेको थुम्को गढीको विशेषता हो । यो गढी ६ सय ३९ वर्ग मिटर र समुद्री सतहबाट १ हजार २ सय ७५ मिटर उचाइमा रहेको छ । चौघेरामा रहेको ढुङ्गाले बनेको गढीको किल्ला प्रवेश गर्ने एक मात्र ढोका रहेको छ । यसमा लगाइएको ढुङ्गाको पर्खाल ६ मिटर अग्लो र ३ मिटर चौडा छ । किल्लाभित्र कोतघर, पानी जम्मा गर्नका लागि इनार र चौतर्फी सुरक्षा घेराका लागि बनाइएका नौओटा प्वाल छन् । उपरदाङगढी चितवनमा भए पनि यो नाम देशकै इतिहाससँग जोडिएको छ । उपरदाङगढी चितवनको पुरानो सदरमुकाम हो, जसको इतिहास नेपालको एकीकरणसँग जोडिएको छ ।
चितवन उद्योगका अध्यक्ष भेषराज दुवाडीको नेतृत्व र प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतको प्रमुख आतिथ्यतामा उपरदाङ्गगढी (किल्ला) भित्र राष्ट्रिय झण्डाको झन्डोलोतन समेत गरिएको थियो । गढीको मुलगेटमा राखिएको राष्ट्रिय झण्डालाई प्रमुख अतिथि बस्नेतले झन्डोलोतन गरेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । सो अवसरमा उहाँले गढी चितवनको मात्र नभई राष्ट्रकै गौरवको विषय भएकोले चितवन उद्योग संघले गरेको यस्तो कार्यप्रति धन्यवाद समेत व्यक्त गर्नुभयो । यसलाई राष्ट्रले एक गौरवको रुपमा विकास गर्नुपर्नेमा उहाँको जोड थियो ।

उद्योगी सम्मान कार्यक्रम सम्पन्न
भरतपुर÷चितवन उद्योग संघको आयोजनामा उपरदाङ्गगढीमा उद्योगी सम्मान कार्यक्रमको आयोजना गरियो । चितवन उद्योग संघका अध्यक्ष भेषराज दुवाडीको अध्यक्षतामा सम्पन्न उद्योगी सम्मान कार्यक्रममा नेपाल उद्योग परिसंघका केन्द्रीय उपाध्यक्ष एवं संघका पूर्व अध्यक्ष कृष्णप्रसाद अधिकारी प्रमुख अतिथि रहनुभएको थियो भने, प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत, भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदी, सशस्त्र प्रहरी बल नेपाल, बाहिनी मुख्यालय मकवानपुर नं. ३ बाहिनीका सशस्त्र प्रहरी नायव महानिरीक्षक रामप्रकाश श्रेष्ठ बिशिष्ट अतिथि रहनुभएको थियो । कार्यक्रममा संघका संस्थापक अध्यक्ष दिलबहादुर ताम्राकार, गभर्निङ काउन्सिलका सह–संयोजक एवं पूर्व अध्यक्ष मण्डलका संयोजक हरिप्रसाद सुवेदी, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु, सरकारी निकायका प्रमुखहरु, उद्योग संघका कार्य समिति सदस्यहरु, स्थानीय टोल सुधार समितिका प्रतिनिधि, विद्यालयका प्राचार्य एवं सञ्चालक समितिका अध्यक्ष, उद्योगीहरु लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमका विशिष्ट अतिथि सशस्त्र प्रहरी बल नेपाल, बाहिनी मुख्यालय मकवानपुर नं. ३ बाहिनीका सशस्त्र प्रहरी नायव महानिरीक्षक रामप्रकाश श्रेष्ठले चितवन हरेक कुराको सम्भावना बोकेको जिल्ला र औद्योगिक एवं उद्यमशिलताको क्षेत्रमा उर्बर भूमी भएको भन्दै चितवन उद्योग संघ र आफ्नो संस्थाप्रति विगतका दिनदेखि सहकार्य हुँदै आएको र औद्योगिक सुरक्षाको लागि अझै सहकार्य गर्दै अगाडि बढ्नेमा विश्वास व्यक्त गर्नुभयो ।
त्यस्तै भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीले सम्मानित अर्याललाई बधाई दिदै उद्योगहरुका समस्यालाई महानगरपालिकाको तर्फबाट आवश्यक सल्लाह र सुझावको माध्यमबाट समाधान गर्दै जानेमा विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रमका विशिष्ट अतिथि प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जस्मिन पेन्टस्ले प्राप्त गरेको यो सम्मान राष्ट्रकै सम्मान भएको बताउनुभयो । उहाँले राज्यबाट उद्योग सञ्चालनको लागि उद्योग नीति र सुरक्षाको विश्वासिलो वातावरण बन्ने हो भने उद्योगीहरुप्रति उद्योगमा लगानी गर्ने आशा पैदा हुनेमा विश्वास दिलाउनुभयो ।
त्यस्तै कार्यक्रमका प्रमुख अतिथि नेपाल उद्योग परिसंघका केन्द्रीय उपाध्यक्ष एवं संघका पूर्व अध्यक्ष कृष्णप्रसाद अधिकारीले नेपालमा सञ्चालन भएका उद्योगहरुले नेपालमा मात्र नभई बाहिरी मुलुकहरुमा समेत आफ्नो व्यवसाय बिस्तार गर्दै आएको बताउनुभयो । उहाँले उद्योग सञ्चालनको लागि सरकारको तर्फबाट सुरक्षाको ग्यारेन्टी र उद्योगमैत्री वातावरण र्सिजना भयो भने जस्मिन पेन्टस् जस्तै थुप्रै उद्योगहरुले आफ्ना उत्पादनहरुलाई अन्य मूलुकको बजारमा प्रतिस्पर्धा गर्न सक्नेमा विश्वास व्यक्त गर्नुभयो ।
उहाँले जस्मिन पेन्टस्ले प्राप्त गरेको सम्मानलाई सम्पूर्ण उद्योगीहरुले स्वागत गर्नुपर्नेमा समेत जोड दिनुभयो । संघका अध्यक्ष भेषराज दुवाडीको अध्यक्षतामा सम्पन्न उद्योगी सम्मान कार्यक्रमलाई बरिष्ठ उपाध्यक्ष राजु पौडेलले सञ्चालन गर्नुभएको थियो ।

संघका उपाध्यक्ष लक्ष्मण अर्याल सम्मानित
उद्योगी सम्मान कार्यक्रममा जस्मिन पेन्टस् प्रा.लि.का प्रबन्ध निर्देशक, संघका उपाध्यक्ष एवं बरिष्ठ उद्योगी लक्ष्मण प्रसाद अर्याललाई सम्मान गरिएको थियो । उहाँलाई कार्यक्रमका सभापति एवं चितवन उद्योग संघका अध्यक्ष भेषराज दुवाडी, प्रमुख अतिथि नेपाल उद्योग परिसंघका केन्द्रीय उपाध्यक्ष कृष्णप्रसाद अधिकारी, विशिष्ट अतिथि प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत लगायतले एकसाथ दोसल्ला र सम्मान पत्रले सम्मान गर्नुभएको थियो । ंंउहाँलाई लण्डनमा आयोजित “अन्तराष्ट्रिय विड अवार्ड” र “नेपाल वेष्ट ब्राण्ड लिडरसिप अवार्ड–२०१८” बाट सम्मानित हुनुभएको र औद्योगिक विकासको लागि योगदान दिनुभएको भन्दै सम्मान गरिएको थियो । सम्मानित अर्यालले आफूले यो २५ वर्षे व्यवसायिक यात्रामा गरेका उत्तरचढाव, झेल्नुपरेका समस्या र आफुले गरेको कामको सफलताको बारेमा प्रष्ट पार्नुभएको थियो ।