कालिकामा न्यायिक कक्ष नहुँदा न्यायसम्पादनमा समस्या ।

चितवन , १३ पौष । चितवनको कालिका नगरपालिकामा न्यायिक कक्ष नहुँदा न्यायसम्पादनमा समस्या भएको छ । चितवन सक्रिय महिला प्रतिष्ठानले आयोजना गरेको ‘लैंगिक मैत्री वातावरण सिर्जना गर्न स्थानीय जनप्रतिनिधिको भूमिका’ क्रममा नगरपालिकाले न्यायिक कक्षको अभावले कार्यसम्पादनमा समस्या भएको नगरपालिकाले जनाएको हो ।
‘हामीसँग पर्याप्त बजेट नहुँदा आवश्यकता भएर पनि न्यायिक कक्ष स्थापना गर्न सकेका छैनौँ,’ उपमेयर कमला भट्टराईले भनिन्, ‘जसले गर्दा काम गर्न निकै गाह्रो भएको छ ।’ अझ धेरैजसो समस्या सम्बन्धित वडाबाटै समाधान गर्ने गरेकोले ठूलो समस्या नभएको उनको भनाइ छ । ‘सम्बन्धित वडा कार्यालयबाटै समस्या समाधानको प्रयास गरिरहेका छौँ,’ उनले भनिन्, ‘त्यसले गर्दा पनि नगरपालिकालाई कम भार परेको छ ।’ वडामा मेलमिलाप हुन नसकेका समस्या मात्रै नगरपालिकामा आउने गरेको उनले बताइन् । उनका अनुसार गत आर्थिक वर्षमा नगरपालिकामा जम्मा सातवटा उजुरी दर्ता भएका थिए । यो आर्थिक वर्षको पनि हालसम्मको तथ्यांक हेर्दा सातवटै उजुरी नगरपालिकामा आइपुगेको उनले बताइन् । एउटै वडामा २० वटाभन्दा बढी उजुरी आउँदा रहेछन्,’ उनले भनिन्, ‘तर, ती सबै वडाले समस्या समाधान गर्दै आएकोले नगरपालिकामा ठूलो चाप भएको छैन । नत्र नगरपालिकाले धान्नै सक्ने थिएन ।’ बढी मात्रामा श्रीमान् श्रीमतीबीचको झगडा, सम्बन्ध विच्छेद, साँधसँधियार, वैदेशिक रोजगार लगायतका विषयमा समस्या लिएर आउने गरेको महिला विकास निरीक्षक सीता गैरेले जानकारी दिइन् । चितवन सक्रिय महिला प्रतिष्ठानले भने यस्ता समस्या नआओस् भनेर नगरपालिकाको वडा नं। ३, ५, ६ र ७ मा विभिन्न कार्यक्रम गर्दै आएको छ । ‘हामीले लैंगिक समानताको लागि नगरपालिकाको चारवटा वडामा विभिन्न महिला समूह र पुरूष समूह गठन गरेर विभिन्न खालका तालिमको व्यवस्था मिलाउँदै आएका छौँ,’ प्रतिष्ठानकी सामाजिक परिचालक जुना तिवारीले भनिन्, ‘नगरपालिकाले पनि सकारात्मक भूमिका खेल्दै आएकोले काम गर्न सहज भएको छ ।’
नगरपालिकाले भने सीमित बजेटमा रहेर काम गर्नुपर्ने भएकोले पनि समस्या भएको जनाएको छ । ‘५८ करोड ६ लाख रूपैयाँ कुल बजेटमा जम्मा ४८ लाख २९ हजार रूपैयाँ महिलाको क्षेत्रमा छुट्याइएको छ,’ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यज्ञ पुरीले भने, ‘स्थानीय तहमा पहिलो अभ्यास भएकोले पनि केही समस्या भएको हो ।’