ठोरी महोत्सवको तयारी अन्तिम चरणमा

“ठोरीको पहिचान र समृद्धि“का लागि कोसे ढुङ्गा साबित हुने विश्वास


सुर्य बराल
चितवन । एतिहासिक स्थल पर्साको ठोरीमा पर्यटन प्रवर्द्धन गर्ने उदेश्यसहित आयोजना हुन लागेको प्रथम ठोरी महोत्सव–२०७५ को तयारी अन्तिम चरणमा पुगेको छ ।
ठोरी गाउँपालिका(२ को राईधारामा आयोजना हुन लागेको सो महोत्सवले “ठोरीको पहिचान र समृद्धि“का लागि कोसे ढुङ्गा साबित हुने आयोजकको विश्वास छ । “कृषि, पर्यटन र व्यापारबाट समृद्धिको खाका कोरी, पौष १३ देखि २३ सम्म जाऔँ है ठोरी” भन्ने मुख्य नाराका साथ सञ्चालन हुन लागेको सो महोत्सवले ठोरीको पहिचानका लागि साध्य हुने आयोजक र अन्य सरोकारवालाहरुले दाबी गरेका हुन् ।
महोत्सव आयोजक कपुरबोट मिडियाले गत शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै जिल्ला समन्वय समिति पर्साका उप(प्रमुख ठाकुर न्यौपाने, गाउँपालिकाका अध्यक्ष पीएल श्रेष्ठ लगायतले ठोरीको पहिचान र समृद्धिका लागि महोत्सव साधक हुने हाबी गरेका हुन् । प्रदेश २ कै मुख्य पर्यटकीय नगरीको रुपमा रहेको ठोरीलाई चिनाउने अभियानलाई सफल पार्न सबै संग उनीहरुले आग्रह गरेका थिए ।
कपुर बोट मिडिया प्रालिको आयोजनामा हुन लागेको महोत्सवको उद्घघाटन नेपाल सरकारका नागरिक उड्डयन तथा पर्यटन मन्त्री रविन्द्र अधिकारीले गर्ने कार्यक्रम तय भएको कपुरबो मिडीयाका अध्यक्ष तथा आयोजक समितिका संयोजक सन्तोष देउजाले जानकारी दिए ।
ठोरीको ऐतिहासिक, धार्मिक, साँस्कृतिक, जातिय विविद्यता तथा प्राकृतिक सौन्दर्यताको प्रचार प्रसारको कमीले यस क्षेत्र ओझेलमा परेको भन्दै महोत्सवले यसको पहिचानको प्रबर्धन गर्ने बताए । महोत्सवको नेपाली र भारतीय गरी १ लाख पर्यटकले अवलोकन गर्नेछन् । महोत्सवमा १५० स्टल रहने आयोजकले जानकारी दिएको छ ।

महोत्सवमा बिभिन्न जातजातिको साँस्कृतिक झाँकी प्रदर्शन, कृषि प्रदर्शनी, बैँक तथा वित्तिय संस्था, अटोमोबाइल, आइटी, इलेक्ट्रिक तथा इलेक्ट्रोनिक सामाग्री, गार्मेन्ट, जुत्ता तथा चप्पल, निर्माण सामाग्री, हस्तकलाका सामाग्रीहरु, एफएम सीजी, रिटेल, स्थानीय होटल तथा रेष्टुरेन्ट, चिल्ड्रेन फनपार्क समेत रहने देउजाले बताए ।
महोत्सवमा राष्ट्रिय, स्थानीय तथा भारतीय कलाकारहरुको समेत बेजोड प्रस्तुती रहने उनले बताए ।
कार्यक्रममा देउजाले महोत्सवको झण्डै ८० प्रतिशत भन्दा बढी तयारी पूरा भैसकेको जानकारी दिए । महोत्सवको तयारीको क्रममा चौतारा र चोकबजारमा स्वागतद्वार निर्माण,महोत्सव स्थलमा राखिने मनोरञ्जनात्मक पीङ्, झुला लगायतका खेलहरु जडान गर्ने कार्य सम्पन्न भईसकेको उनले बताए । महोत्सव स्थललाई घेराबार लगाउने, प्रवेशद्वार निर्माण गर्ने, स्टल निर्माण, महोत्सव स्थलको सरसफाई लगायतका कार्यहरु धमाधम भैइरहेको देउजाले बताए ।
भारतीय पर्यटकहरुको मुख्य गन्तव्यको रुपमा बिकास हँुदै गरेको ठोरीमा बढीभन्दा बढी भारतीय पर्यटक भित्र्याउने रणनिती अनुरुप कार्य भईरहेको देउजाले जानकारी दिए ।
महोत्सवमा २ करोड ५० लाखको कारोबार हुने र झण्डै ५८ लाख रुपियाँ खर्च हुने अनुमान गरिएको छ । महोत्सवमा नेपाल एवं भारतका गरी १ लाख दर्शकले महोत्सव अवलोकन गर्ने आयोजकको अनुमान छ । महोत्सवको लागी गर्नुपर्ने सम्पूर्ण कार्य भईसकेको भन्दै महोत्सवको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जानकारी दिएको छ ।