सम्बन्ध विच्छेदको घटना दिन प्रतिदिन बढ्दै

 पुरुष अग्रस्थानमा

पौष ९, काठमाडौं । गुल्मीमा पछिल्लो समय सम्बन्ध विच्छेदका घटना बढ्दै गएका छन् । चालू आर्थिक वर्षको साउन महिनामा मात्र १२ महिलाले अदातलमा सम्बन्ध बिच्छेदको मुद्धा दर्ता गरेका थिए ।

गत १ भदौबाट पुरुषले पनि सम्बन्ध विच्छेद गर्न पाउने व्यवस्था नयाँ मुलुकी ऐन कार्यान्वयनमा आएपछि अदालतमा सम्बन्ध विच्छेदका लागि आउने पुरुषहरूको संख्या ह्वात्तै बढेको छ ।

नयाँ मुलुकी ऐन लागू भएपछि भदौमा मात्रै २१ पुरुष र १३ महिलाले सम्बन्ध विच्छेदको माग गर्दै मुद्धा दर्ता गरेको जिल्ला अदालतका श्रेष्तेदार दुर्गा प्रसाद बस्यालले जानकारी दिए ।

यसैगरी असोजमा नौ महिला र छ पुरुष, कार्तिकमा १६ पुरुष १२ महिला र मंसिरमा चार पुरुष र आठ महिलाले अदालतमा सम्बन्ध विच्छेदको मुद्धा दर्ता गराएको श्रेस्तेदार बस्यालले बताए ।

चालू आवको पाँच महिनामा मात्रै ५४ महिला ४७ पुरुष गरी १०१ वटा सम्बन्ध विच्छेदका मुद्धा दर्ता जिल्ला अदालत, गुल्मीमा भएको छ । जिल्ला अदालत गुल्मीमा आर्थिक वर्ष ०७४र०७५ मा १४७ वटा सम्बन्ध विच्छेदका मुद्धा दर्ता भएका थिए ।

नयाँ मुलुकी ऐनमा पुरुषले पनि सम्बन्ध विच्छेद गर्न पाउने कानुनी व्यवस्था रहेको थाहा पाएपछि अदालत गुल्मीमा एकै दिन तीन पुरुषले मुद्दा दर्ता गरेका छन् ।

नयाँ ऐन लागू भएपछि गत ७ भदौमा पहिलो पटक छत्रकोट गाउँपालिका ६ का लक्ष्मण ज्ञवाली, इस्मा गाउँपालिका ५ का शोभाखर पन्थ र रेसुङ्गा नगरपालिका ४ का राजेन्द्र बहादुर खत्रीले एकै दिन पत्नीविरुद्ध सम्बन्ध विच्छेदको मुद्दा दर्ता गरे भने १३ भदौमा एकै दिन धुर्कोट गाउँपालिका १ का बाबुराम थापा र रेसुङ्गा नगरपालिका १३ का हरि बहादुर खत्रीले सम्बन्धविच्छेदको मुद्दा दर्ता गरे ।

जिल्ला अदालत गुल्मीमा नयाँ मुलुकी ऐन लागू भएपछि अहिलेसम्म ४७ जना पुरुषले मुद्दा दर्ता गरेका छन् भने महिलाको पक्षबाट ४२ जनाले मुद्धा दर्ता गरेका छन् । आजको राजधानी दैनिकमा यो समाचार छ ।