चितवनको सौंराहामा पुस ११ बाट हात्ती महोत्सव हुँदैं


चितवन । नेपालकैं तेश्रो पर्यटकीय गन्तब्यको रुपमा परिचित चितवनको सौंराहामा हरेक बर्ष मनाईदैं आएको हात्ती महोत्सव आगामी पुस ११ बाट हुने भएको छ । क्षेत्रीय होटल संघ नेपाल चितवन शाखाको आयोजनमा हुने १५ औं हात्ती महोत्सव पुस १५ गतेसम्म ५ दिन चल्ने आयोजकले जनाएको छ ।
महोत्सवको बारेमा जानकारी दिने उध्येश्यले क्षेत्रीय होटल संघले आज सोमबार सौराहामा गरेको पत्रकार सम्मेलनमा महोत्सवले सौराहामा पर्यटक प्रवद्र्धन हुने जनाईएको हो । महोत्सवमा हात्तीसँगका अनेकौं रोचक गतिविधि तथा खेलहरु प्रस्तुत गरिने आयोजकले जनाएका छन् ।
आन्तरिक र बाह्य पर्यटक प्रवद्र्धनका साथै हात्तीहरुको संरक्षण र महत्व बुझाउन महोत्सव गरिन लागेको हान चितवनका अध्यक्ष सुमन घिमिरेले जानकारी दिएका छन् । महोत्सवमा हात्तीहरुको वनभोज, हात्ती पोलो, हात्ती फास्ट वाक प्रतियोगिता, छावाहरुको रोचक फुटबल, हात्ती सुन्दरी प्रतियोगिता, हात्ती पेन्टिङ, कवि गोष्ठी र राष्ट्रिय तथा स्थानीय कलाकारह?को विविध सांस्कृतिक कार्यक्रम गरिने अध्यक्ष घिमिरेले जानकारी दिएका छन् । महोत्सवमा ४९ लाख १० हजार बजेट खर्च हुने आयोजकको अनुमान छ ।
महोत्सवको सहआयोजकमा युनाइटेड हात्ती सञ्चालक सहकारी, मृगकुञ्ज उपभोक्ता समिति, बाघमारा मध्यवर्ती सामुदायिक वन, चित्रसेन मध्यवर्ती सामुदायिक वन, रेष्टुरेन्ट एण्ड बार एशोसिएन सौराहा, सौराहा बचत तथा ऋण सहकारी र साना पर्यटन व्यवसायी संस्था रहेका छन् ।