निर्मलाका निम्ती न्याय भन्दै विप्लव नेतृत्वको नेकपा द्वारा चितवनमा प्रदर्शन


चितवन । कन्चनपुरकी बालिका निर्मला पन्तको गत श्रावण १० गते भएको बलत्कार तथा हत्यामा संलग्न दोषि पत्ता लगाई कार्वाही हुन ढिलाई भएसँगै आम स्तरमा विरोधका कार्यक्रमहरु बढदै गईरहेका छन् । यसैक्रममा निर्मलालाई न्याय दिलाउन सरकारका विरुद्ध दबाब सिर्जना गर्न नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी देशव्यापी विरोध र प्रद्धर्शनका अभियान नै सञ्चालन गरिरहेको छ । सोही कार्यक्रम अन्तर्गत चितवनमा शनिबार बिरोध कार्यक्रम सम्पन्न भएको छ ।

भरतपुर महानगर कमिटिले आयोजना गरेको ¥याली हाकिमचोक देखि चौबिसकोटीसम्म गई विरोधसभामा परिणत भएको थियो । प्रदर्शनपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै अखिल (क्रान्तिकारी )का महासचिब प्रकाश शाहीले हत्यारालाई यथासक्य चाँडो कार्वाही गरियोस भन्दै हत्यारालाई जोगाउने खेल भईरहेमा पार्टी देशब्यापि रुपमा प्रद्धर्शनमा उत्रने चेतावनी दिएका छन् । विप्लवका कार्यकर्ताले निर्मलाको हत्यारा चार महिनासम्म पनि पत्ता लगाउन सरकार असक्षम भएको भन्दै सरकारविरुद्ध प्रदर्शन गरेका हुन् ।

त्यस्तै, चितवनकै खैरहनी नगरपालिका चैनपुरले चोकदेखि पर्सा चौबिसकोटी चोकसम्म ¥याली आयोजना गरी विरोध सभामा परिणत भएको छ । सो कार्यक्रममा कार्यक्रम संचालन अखिल नेपाल महिला संघकी अध्यक्ष अञ्जना तामाङले गर्नु भएको थियो भने विरोध भाषण महिला संघकी केन्द्रीय सदस्य सिंसम शाही र विद्यार्थी पश्चिम तामसालिङ व्यूरो अखिल क्रान्तिकारीका संयोजक अविरलले सम्बोधन गर्नुभएको थियो । कार्यक्रममा हजारौं जनताको उपस्थिति रहेको थियो ।