पेट्रोलियममा उपभोक्ता ठग्नेलाई एक वर्ष कैद

काठमाडौं —पेट्रोल पम्पको मदरबोर्डमा सफ्टवेयर राखेर इन्धनमा ठगी गर्ने तीन व्यवसायीलाई एक वर्ष कैद सजायको निर्णय हुने भएको छ ।

गुणस्तर तथा नापतौल विभागअन्तर्गतको बारास्थित क्षेत्रीय कार्यालयले कलैयामा रहेका विजय आयल स्टोर, मोहम्मद आयल स्टोर र श्रीशंकर आयल स्टोरलाई १० हजार रुपैयाँ जरिवानासहित एक वर्ष जेल सजाय गर्ने भएको खबर आजको नयाँ पत्रिकामा छ ।

कार्यालयका प्रमुख शशीभूषण यादवले दसैँअघि तीन पम्पमा अनुगमन गर्दा सफ्टवेयर राखेर ठगी गरेको भेटिएको जानकारी दिए ।

‘१० लिटरको भाँडामा परीक्षण गर्दा विजय आयल स्टोरले चार सय मिलिलिटर, मोहम्मद आयल स्टोरले ४० मिलिलिटर र श्रीशंकर आयल स्टोरले ५० मिलिलिटर ठगी गरेको भेटिएको थियो,’ उनले भने, ‘यति धेरै परिमाण तेल ठगेको पाएपछि सुरुमा आश्चर्य लाग्यो, बुझ्दै जाँदा सफ्टवेयर जडान गरेर ठगेको पत्ता लाग्यो ।’