श्यामराङमा खानेपानीको चरम अभाव


चितवन , ६ मंसिर । जबजब हिउँद महिना आउन थाल्छ तब तब पुर्वी चितवनको राप्ती नगरपालिकास्थित श्यामराङका स्थानीयले खानेपानीको समस्या भोग्नुपर्छ । २६ वर्षअघि निर्माण भएको खानेपानी आयोजना समेत जीर्ण बन्दै गएपछि यहाँका स्थानीयको समस्या झन् बिकराल बन्दै गएको छ । बिं।सं २०४९ सालमा जिल्ला विकास मार्फत ७ वटा धारा परेकोमा त्यसबखत जम्मा ४७ घरमात्रै रहेकोमा अहिले त्यो संख्या बढेर ८५ पुगेको छ । घरधुरी संख्या बढ्दै गएको छ भने, खानेपानीको समेत उत्तिकै चरम अभाव भएको छ । गाउँमा धारो नभएको पनि होइन, तर पानी नै आउँदैन । पहिला गाउँ सानो थियो, त्यतिबेला थोरै पानी भए पनि पुगिन्थ्यो भन्छन् स् स्थानीय उदय चेपाङ । उनका अनुसार ‘पुरानो आयोजना जीर्ण हुँदै गयो, त्यसैले गाउँसम्म पानी नै आइपुग्दैन’, ‘गाउँमा जनसंख्या पनि बढ्दै गएकोले गाउँ नै ठूलो भएको छ ।’ गाउँको धारोमा २०५९ सालबाटै पानी झर्न छाडेको उनले बताए । अहिले गाउँलेलाई एक गाग्री पानी भर्न पनि दुई घन्टा लाग्छ । मुहानबाट थोरै वरसम्म पानी आए पनि पाइप जीर्ण भएकोले बीचैमा पाइप फुट्दा गाउँसम्म पानी आइपुगेको छैनन् , उनले भने । गाउँमा पानी अभावकै कारण नुहाउनमा समेत समस्या हुने गरेको उनको दुखेसो छ । पिउने पानी अभावकै कारण गाउँका अधिकांश मान्छेले गाईवस्तुसमेत पाल्न छाडेका छन् । पानीकै लागि छटपटाएको वर्षौं बितिसके पनि सरकारको ध्यान नपुग्दा स्थानीय आक्रोशित छन् । अहिले गाउँको घरधुरी संख्याअनुसार कम्तीमा पनि २१ धाराको आवश्यकता पर्ने दुङ्बाङ राष्ट्रिय प्राथमिक विद्यालयका प्रधानाध्यापक अतिबल चेपाङले बताए । तीनवटा मुहानबाट पानी ल्याउन कम्तीमा पनि ६० लाख रूपैयाँ खर्च लाग्ने गाउँलेले अनुमान गरेका छन् ।