नमूना शौचालय सञ्चालन नहुँदै अलपत्र ।

चितवन , ३० कार्तिक । पुर्वी चितवनको राप्ती नगरपालिका–७, वीरेन्द्रनगर चोकमा निर्माण गरिएको नमूना शौचालय सञ्चालन नहुँदै अलपत्र बनेको छ । वीरेन्द्रनगर आदर्श माविको जग्गामा विद्यालय, श्री साना किसान कृषि सहकारी संस्था, तत्कालीन वीरेन्द्रनगर गाविस र साविक जिविस चितवनको सहयोगमा निर्माण गरिएको शौचालय संस्थाहरुको आपसी खिचातानीका कारण अलपत्र बनेको हो । शौचालयका झ्यालका सिसा फुटेका छन् भने भित्र लगाइएका टायल पनि तोडिएका छन् । शौचालय पछाडि वीरेन्द्रनगर चोक वरपर थुप्रिएको फोहर ल्याएर जलाउने गरिएको छ । माकुराको जालोले शौचालय ढाकिएको छ । पूर्व–पश्चिम राममार्गमा यात्रा गर्ने यात्रुहरुलाई नुहाउनसमेत मिल्ने गरी रिफ्रेसिङ सेन्टरका रूपमा चलाउने योजनासहित शौचालय निर्माण गरिएको थियो । शौचालय विगत ४ वर्षदेखि यतिकै अलपत्र छ । यता, वडा नं. की वडाध्यक्ष सुमित्रा डल्लाकोटीले शौचालय सञ्चालन गर्ने विषयमा विद्यालय र सहकारीसँग कुराकानी भइरहे पनि अझै सञ्चालन गर्न नसकिएको बताइन् ।