बुलबुलको गीत कार्तिक १५ गते नयाँ शैलीमा सार्वजनिक हुने

टेम्पो ड्राईभरको भूमिकामा स्वस्तिमा खडकालाई अभिनय गराएर यतिखेर चलचित्र बुलबुल चर्चामा रहेको छ । एउटा गीतको काम बाँकी राखेको फिल्म युनिटले हालै मौसम खुलेपछि चारदिन लगाएर छायाँकन सम्पन्न गरेको हो । छायाँकन सकिए लगतै बुलबुल टोलीले खुद्राखाद्री बोलको यस गीत कार्तिक १५ गते ँबिकज ःयद शैली अपनाएर सार्वजनिक गरिने बताएको छ । नेपालका पाँच सहर काठमाडौको काठमाडौं मल अगाडि ,पोखराको चिप्लेढुंगा चोक, बुटवलको ट्राफिक चोक,नारायणघाटको नारायणी किनार र बिर्तामोडको हनुमान कम्प्लेक्समा १५ गते दिनको ३ बजे एकै समयमा बजारमा चलचित्रको गीतमा सय भन्दा बढी छरिएर बसेका डान्सरले अचानक नाच्नेछन् र बजारमा सामान्य तरिकाले यात्रा गरिरहेकाहरु अचानक के भयो भनेर अचम्मित हुने छन् । निर्माणपक्षले यो शैली संभवत चलचित्रको गीत सार्वजनिक गर्ने सवालमा नेपालमा नौलो भएको र यसको प्रयोगको चर्चाको विषय हुनेविश्वास लिएको छ । बजारमा नाचेसँगै युटयुव र मिडियाहरु मार्फत पनि एकै समय संसारभर गीत सार्वजनिक हुनेछ ।

भक्तपुरको हेलमेट डाँडामा पच्चीस वटा टेम्पो र १०० जनाको कोरससहित गीतको कोरियोग्राफी कविराज गहतराजले गरेका हुन । करोड क्लवका कोरियोग्राफर गहतराजले बुलबुलको खुद्राखाद्री मायाले बोलको गीतको काम असाध्यै रमाईलो माहोलमा सकिएको र यस गीतले पुन एकपटक आफ्नो करियरमा नयाँ उचाई थप्ने बताए । यस गीतमा निश्चल बस्नेत र रजिना रिमालको स्वर रहेको छ भने गीतको लेखन र संगीत कोशिस क्षेत्रीले गरेका हुन् ।

चलचित्रका निर्माता अविरल थापाले छायाँकनमा जम्मा १८ लाख खर्च भएको र गीत यति रमाईलो छ कि दर्शक श्रोताको कानमा परेपछि र नाच हेरेपछि जो कसैले पनि कम्मर नभाँची र हातखुट्टा नहल्लाई बस्नै नसक्ने दावा गरे । उनले प्रेमील भावका रचिएको गीत सबैको मुख मुखमा झुण्डिने र बजारमा आफनो चलचित्रको गीतले तरंग ल्याउने र नयाँ रेर्कड कायम गर्न सक्ने पनि बताए । सो गीतमा स्वस्तिमा खड्का र नयाँ नायक मुकुन भुसालको जोडदार नृत्य र नयाँ नयाँ ठूम्का हेर्न पाईनेछ ।

चलचित्रका निर्देशक विनोद पोडेलले पटकपटक बुलबुल चलचित्र मार्फत स्वस्तिमा खडकाको अभिनयमा नयाँ अवतार देखिने र थप केही सशक्त नयाँ कलाकार चलचित्र उद्योगले पाउने दावी गर्दै आएका छन् । नायिका स्वस्तिमा खडकाले स्वयंले पनि यो चलचित्र आफनो करियरकै कोशेढुंगा हुनेमा ठुलो आशा राखेको बताएकी छिन् ।

चलचित्रमा स्वस्तिमा खडकाका अलावा नवनायक मुकुन भुसाल ,बुद्धि तामाङ्ग ,दिपक क्षेत्री ,लक्ष्मी बर्देवा, जोयश पाण्डे,उज्जल अधिकारी ,सृष्टि भट्टराई आदिको अभिनय रहेको छ । चलचित्रमा अविरल थापा लगायतको लगानी रहेको छ भने यसका कार्यकारी निर्माता रामराजा दाहाल हुन् ।चलचित्रको छायाँकन सुसन प्रजापतिले गरेका हुन् । चलचित्र बुलबुलले यसअघिनै आगामी फागुन ३ गते चलचित्र रिलिज हुने सार्वजनिक गरिसकेको छ भने त्यसअघि भ्याएसम्मका विश्वका मुख्य फिल्म महोत्सवहरुमा सहभागी भईसक्नेछ ।

के निर्माण टोलीले भनेजस्तै बुलबुलले चलचित्र नगरीमा नयाँ फड्को मार्छ त त्यो भने प्रतीक्षाकै विषय भएको छ ?