खैरहनीमा मंसिर १६ गतेदेखी प्रथम खैरहनी महोत्सव हुँदै

 

चितवन । पुर्वी चितवनको खैरहनीमा आगामी मंसिर १६ गतेदेखी प्रथम खैरहनी महोत्सव हुने भएको छ । उद्योग वाणिज्य संघ खैरहनी र खैरहनी नगरपालिकाको संयुक्त आयोजनामा मंसिर १६ देखी २४ गते सम्म महोत्सव हुन लागेको हो । यस क्षेत्रको कृषि, पर्यटन, उद्योग र संस्कृतिको विकास र संर्वद्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको उद्योग वाणिज्य संघ खैरहनीका अध्यक्ष एवंम् महोत्सव मुल समितिका संयोजक चन्द्रप्रसाद सापकोटाले जानकारी दिए । महोत्सव सम्पन्न गर्न २४ वटा कार्यगत समिति, ५१० सदस्यीय मुल समिति, ११ सदस्यीय स्टेरिङ समिति र १५ सदस्यीय सल्लाहाकार समिति गठन गरिएको छ । खैरहनी नगरपालिका–२ स्थित लदरी खोला किनारमा हुने महोत्सवमा करिव २ सय ५० वटा स्टल रहने संयोजक सापकोटाले बताए । महोत्सवमा २ लाख दर्शकले अवलोकन गर्ने दावी आयोजकको छ । महोत्सवका लागि गठित मेला व्यवस्थापन समितिका संयोजक रामेश्वर पोखरेलका अनुसार उद्योग, कृषिका छुट्टै विषेश परिसरको व्यवस्था गरिने छ । पोखरेलका अनुसार खैरहनीमा करिव १ सय भन्दा बढि उद्योग स्थापित छन् ।

थारु कल्याणकारी सभाको असन्तुष्टि ।
यसैबीच , थारु कल्याणकारी सभा क्षेत्र नम्बर ७ ले खैरहनीमा हुन गइरहेको महोत्सवको असन्तुष्टि जनाएको छ । खिचरा महोत्सव भन्दा झन्डै १ महिना अघि खैरहनी महोत्सव आयोजना गर्न लागिएको भन्दै थारु कल्याणकारीणी सभा क्षेत्र नम्वर ७ ले भने असन्तुष्टि जनाएको क्षेत्रीय सभापति चुडामणी चौधरीले बताए । चौधरीले खिचरा महोत्सवलाई असर गर्ने मनसायले समयलाई ख्याल नगरि खैरहनी महोत्सव गर्न लागिएको भन्दै असन्तुष्टि जनाएको बताएका हुन् ।