ढुङ्गा, बालुवा र गिटीको उत्खननको नियमन गर्न समिति गठन

newsabhiyan

काठमाडौँ, ९ कात्तिक । सरकारले ढुङ्गा, बालुवा र गिट्टीको उत्खनन र बिक्री प्रक्रियाको नियमन गर्नका लागि अनुगमन तथा समन्वय समिति गठन गरेको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ढुङ्गा, बालुवा र गिट्टीको उत्खननको नियमनका लागि जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा समिति गरिएको मन्त्रालय सहसचिव पुरुषोत्तम नेपालले जानकारी दिनुभयो । उहाँले ढुङ्गा, बालुवा र गिट्टीको जथाभावी उत्खनन र बिक्री भएकाले नियन्त्रण गर्नका लागि समिति गठन गरिएको बताउनुभयो ।

समितिको सदस्यमा समन्वय उपप्रमुख, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुख, प्रदेशअन्तर्गत जिल्ला वन, वातावरण तथा भूसंरक्षण अनुगमन समितिले तोकेको कार्यालय प्रमुख, इञ्जिनियर र जिल्ला समन्वय अधिकारी सदस्यसचिव रहने छन् ।

समितिले ढुङ्गा, बालुवा र गिट्टी उत्खननका सम्बन्धमा स्थानीय तहलाई आवश्यक निर्देशन दिनसक्ने सहसचिव नेपालले बताउनुभयो । उहाँका अनुसार समितिले ढुङ्गा, बालुवा र गिट्टी उत्खनन गर्दा वातावरणीय अध्ययन प्रतिवेदनको शर्तको परिपालना गरे÷नगरेको, स्वीकृत, विधि प्रक्रिया परिमाणबमोजिम उत्खनन र सङ्कलन भए÷नभएको राजश्व चुहावट र चोरी निकासी भए÷नभएको, ढुङ्गा, बालुवा र गिट्टीको मूल्य निर्धारण, क्रसर उद्योगले तोकेको मापदण्ड पूरा गरे÷नगरेको जस्ता कार्य स्थानीय तह, उत्खनन सङ्कलनकर्तालाई गराउनेछ ।

समितिले दिएको निर्देशन पालना नगरे ढुङ्गा, बालुवा र गिट्टी उत्खननमा रोक लगाउने अधिकारसमेत दिइएको सहसचिव नेपालले जानकारी गराउनुभयो ।