निर्मला पन्त बलत्कार हत्या प्रकरण : अन्तत् एसपी बिष्ट र इन्सपेक्टर भट्ट बर्खास्त

काठमाण्डौ । निर्मला पन्त बलत्कार हत्या प्रकरणको छानविनमा लापरवाही गरेको आरोपमा सरकारले नेपाल प्रहरीका एसपी डिल्लीराज विष्ट र इन्स्पेक्टर जगदिश भट्टलाई बर्खास्त गरेको छ ।

गृह मन्त्रालयले बिहीबार विष्ट र भट्टलाई भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी बर्खास्त गर्ने निर्णय गरेको हो ।

साउन १० गते साथीको घरमा गएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मलाको बलात्कारपछि हत्या भएको अवस्थामा भोलिपल्ट शव भेटिएको थियो ।उक्त घटनामा कञ्चनपुरका तत्कालिन प्रहरी प्रमुख विष्ट र वडा प्रहरी कार्यालय महेन्द्रनगरको प्रमुख रहेका इन्स्पेक्टर भट्टले अनुसन्धानमा लापरवाही गरेको भेटिएको थियो ।

सरकारी छानबिन समितिले प्रहरी लापरवाही भएको रिपोर्ट दिएपछि विष्ट र भट्टलाई स्पष्टीकरण सोधिएको थियो । दुबैले स्पष्टिकरणमा लापरवाही नभएको दाबी गरेका थिए ।

दोस्रो पटक सोधिएको स्पष्टीकरण चित्तबुझ्दो नभएको ठहर गर्दै गृह मन्त्रालयले प्रहरी नियमापलीअनुसार दुबैलाई बर्खास्त गर्ने निर्णय गरेको गृह प्रवक्ता रामकृष्ण सुवेदीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।