न्याय माग्दा बहिष्कार

जनकपुर, २१ असोज । न्यायका लागि ढोका ढकढकाउँदा सर्लाही कविलासीका एक परिवार आफ्नै जातबाट बहिष्कृत भएका छन् । आफूहरूको कुरा नमानेको भन्दै उनलाई जातिबाट बहिष्कार गरिएको उनकै जातिका अगुवाहरूले जनाएका छन् ।

कविलासी नगरपालिका(१ पिपरियाका बद्री पंडीतको परिवारलाई आफ्नै जातिले बहिष्कार गरेका हुन् । छिमेकी उपेन्द्र पंडीतले जग्गा मिचेको भन्दै उनले अदालतमा मुद्दा दर्ता गराएपछि बहिष्कारमा परेका हुन् । करिव १० वर्ष अगाडि खरिद गरेको १ कठा १५ धुर जग्गा नपुगेपछि उनले वडा कार्यालय, समाज र जातिका अगुवाहरूलाई गुहारेका थिए ।

तर वडा कार्यालय, समाज र जातिका अगुवाले विवाद मिलाउन नसकेपछि उनी जिल्ला अदालतमा जग्गा किचोला मुद्दा दर्ता गराएका थिए । मुद्दा दर्ता भएपछि आफ्नै जातिका अगुवाहरूले आफूलाई पटक(पटक दबाब दिएर मिलाउन भनेको र नमानेपछि जातिगत रूपमा बहिष्कार गरेको बहिष्करणमा परेका पंडीतले गुनासो गरे ।

‘नेपाल सरकारले कानुन बनाएको छ, त्यही कानुनअनुसार मैले न्यायका लागि अदालतमा पुगेँ,’ उनले भने, ‘अदालतमा न्यायका लागि पुग्दा जातिबाट नै बहिष्करणमा परेँ, धेरै दस्ख लागेको छ ।’

न्याय माग्न नेपाल सरकारले ताकेकै ठाउँमा जाँदा पनि जातिले बहिष्कार गरेकोमा पंडीत परिवारको दुखेसो छ । ‘कुनै आपराधिक क्रियाकलाप वा समाज र जातिमा कुनै नराम्रा काम गरे बहिष्कार गर्नु त ठिकै थियो तर न्यायका लागि खोजी गर्दा बहिष्करणमा पर्नु कहाँसम्मको न्याय हो ।’ पंडीतले भने, ‘यसरी त न्याय माग्नेको मनोबल घटदै जान्छ ।’

अहिले पंडीतको घरमा उनकै जातिको एक बच्चा समेतलाई जान रोक लगाइएको छ । पटक–पटक जातिले गरेको छलफलमा पंडीतले जातिको अगुवाको चित्त बुझाउन नसकेको र छिमेकीलाई अनावश्यक अदालतको कटघेरोमा उभाएकाले जातीबाट बहिष्कार गरिएको उनको जातीका अगुवाहरूले बताएका छन् ।

पंडीत परिवारलाई जातीले बहिष्कार गर्दा स्थानीय पनि अचम्म मानेका छन् । कुम्हाल जातिका अगुवाहरू पूर्वाग्रही भएर पंडीत परिवारलाई बहिष्कार गरेको स्थानीय राधाकान्त झाले बताए ।

‘कुम्हाल जातिमा अन्य परिवारको पनि अदालतमा मुद्दा छ, उनीहरू बहिष्करणमा कहिल्यै परेनन् ।’ उनले भने, ‘पंडीत परिवारलाई पूर्वाग्रही भएर अगुवाहरूले बहिष्कार गरेको देखिछ ।’ कान्तिपुर दैनिकबाट