आँपटारी–रामनगर सडकलाई धार्मिक मार्ग बनाइने

प्रनिश थापा

चितवन , १९ असोज । देवघाट क्षेत्र विकास समितिले देवघाट क्षेत्रको विकास गर्न सबैभन्दा पहिला सडक फराकिलो पार्नुपर्ने आवश्यक देखिएको बताएको छ । देवघाट क्षेत्र विकास समितिका निवर्तमान अध्यक्ष टंकनाथ पौडेलले देवघाट क्षेत्रको विकास गर्न पहिले बिकासको आवश्यक रहेको बताएका हुन् । आँपटारी–देवघाट–ठिमुरा–रामनगर धार्मिक मार्ग पूर्णरुपमा विस्तार भए पोखरा, काठमाडौँलगायतका ठाउँबाट देवघाट दर्शन गर्न आउनेलाई सहज हुने देवघाट क्षेत्र विकास समितिको भनाइ छ । देवघाट–ठिमुरा–रामनगरको सडक हाल कच्ची छ । रामनगरबाट आँपटारी नआई सीधै ठिमुरा हुँदै देवघाटधाममा दर्शन गर्न आउने भक्तजनहरुले सडक कच्ची भएका कारण धेरै सास्ती भोग्नुपरेको छ । ‘आँपटारी नआई रामनगरबाट देवघाट आउने बाटो साँघुरो र कच्ची भएका कारण भक्तजनका गाडी हरु फस्ने, पल्टनेजस्ता समस्याहरु भइरहेका छन् । भक्तजनले सास्ती पाएका छन्’ निवर्तमान अध्यक्ष टंकनाथ पौडेलले भने, ‘यो सडक निर्माणको लागि छिटो बजेट निकासा गर्न भौतिक पूर्वाधार मन्त्रालयदेखि भरतपुर महानगरसम्मलाई अनुरोध गरेका छौँ ।’आँपटारी–देवघाट–ठिमुरा–रामनगर–सडकलाई धार्मिक मार्ग बनाइने बताए । उनका अनुसार धार्मिक मार्गको सम्पूर्ण काम तीन वर्षभित्र सक्ने लक्ष्य लिइएको समेत बताए । आँपटारी–देवघाट–ठिमुरा–रामनगर सडकलाई दुई लेनको धार्मिक मार्गको रुपमा विस्तार गर्ने योजना समेत भइरहेको उनले बताए । आँपटारी–देवघाट सडक साँढे पाँच मिटरको चौडाइमा बनाइएको छ । ‘साँढे ५ मिटरको चौडाइ पनि साँघुरो भएको हुनाले साँढे ७ मिटरको बनाउन भौतिक पूर्वाधार मन्त्रालयलाई समेत हामीले पत्रचार गरेका छौँ’ निवर्तमान अध्यक्ष पौडेलले भने, ‘हेरौँ, मन्त्रालयले स्वीकृत दिएर बजेट पार्‍यो भने यो सडक अझै विस्तार हुनेछ ।’ उनका अनुसार भौतिक पूर्वाधार मन्त्रालयले आँपटारी–देवघाट–ठिमुरा–रामनगर सडकको सर्भेको काम सम्पन्न गरिसकेको छ ।आँपटारी देवघाट सडक विस्तारको काम ४० प्रतिशत सकिएको देवघाट क्षेत्र विकास समितिले जनाएको छ । ‘पहिला यो सडक निकै साँघुरो थियो, अहिले विस्तार गरेर निर्माण गरिरहेका छौँ, तर यो सडक अझै फराकिलो पार्ने प्रस्ताव हामीले गरेका छौँ’ उनले भने । आँपटारी–देवघाट सडकमा पर्ने ढ्याग्रे खोलाको रिटेनिङ वाल निर्माणको काम भइरहेको छ । देवघाट क्षेत्र विकास समितिका अनुसार भौतिक पूर्वाधार मन्त्रालयले आँपटारी–देवघाट सडकमा रहेको ढ्याग्रे खोलाको रिटेनिङ वाल निर्माणको लागि ५० लाख रुपैयाँ बजेट निकासा गरेको छ । ‘रिटेनिङ वालको काम पनि आधाआधीमा पुगेको छ’ अध्यक्ष पौडेलले भने, ‘भौतिक पूर्वाधार मन्त्रालयबाट थप बजेट निकासा भएपछि सडक निर्माणको काम तीव्र हुन्छ ।’ आँपटारी –देवघाट–ठिमुरा–रामनगर धार्मिक मार्गको लम्बाइ साढे ११ किलोमिटर छ । धार्मिक मार्गको सडक निर्माणपछि देवघाटमा आन्तरिक तथा बाह्य पर्यटक बढ्ने देवघाट क्षेत्र विकास समितिले जनाएको छ । देवघाटमा वार्षिक झन्डै ११ लाख भक्तजनहरु आउने गरेका छन् ।