बेश्यावृतिको अबैध अखडाबाट यसरी असुल्छन् बौद्धका यी डिएसपी राई


काठमाडौं, १८ असोज । महानगरीय प्रहरी बृत्त बौंद्धका डीएसपी श्यामकुमार राईलाई सुध्रन प्रहरी प्रधान कार्यालयले पटक–पटक चेतावनी दिएपनि उल्टै असुलीमा लिप्त हुने थालेका छन् ।

डीएसपी राईले आफ्नो क्षेत्रमा भएका अवैध गतिविधिलाई आँखा चिम्लिएका कारण मात्र होइन, महिनावारी रकम नै उठाउन थालेपछि उनी अब भने कारबाही पर्ने भएका छन् ।

बौंद्ध बृत्तको प्रमुख भएर आउने वित्तिकै डीएसपी राईले जुवा, तास, क्रसर, बालुवा, डान्स, दोहरी, रिर्सोट, तिब्बतियन जुवा (माजोङ), बेश्यावृत्ति गर्ने अखडाबाट महिनावारी उठाउन थालेका छन् ।

समाजलाई नै असर गर्ने आपराधिक गतिविधि र अवैध कामलाई नियन्त्रण गर्नुको सट्टा प्रहरीले त्यस्ता अखडाबाट रकम असुल्न थालेपछि बौद्ध बृत्तमै चरम असन्तुष्टि छाएको छ ।

राईको क्षेत्रमा दर्जनौं जुवा अखडा छन् । तर, राईले चार वटा जुवा अखडाबाट भने मोटो रकम उठाउने गरेका छन् । राम भुजेलले सञ्चालन गरेको कपन दुर्गा मन्दिर नजिक रहेको जुवा अखडा, बौंद्धमा सोनाम लामाले सञ्चालन गरेको तिब्बतियन जुवा अखडा (माजोङ), मुलपानीस्थित तामाङ थरका ब्यक्तिले सञ्चालन गरेको भीआइपी तास अखडा र नयाँवस्तीमा दोर्जे शेर्पाले सञ्चालन गरेको जुवा अखडाबाट क्रमशः ५०, डेढ लाख, ५० र ५० हजारका दरले रकम असुलीरहेको बौद्ध प्रहरी स्रोतले बतायो ।

बौंद्धमा आउने वित्तिकै महानगरीय प्रहरी परिसर काठमाडौंलाई आफूमातहतमा कार्यरत सबैलाई सरुवा गर्न लगाई आफ्नो नयाँ सेट राखेका छन् । बौंद्ध बृत्त स्रोत भन्छ–‘धैर पहिलादेखि त्यहाँ कार्यरत कतिपय जवान, हवल्दार र असईलाई झोला बाँधेर बस्न भन्दै थर्काउने गरेका छन् । विभिन्न अवैध अखडाबाट रकम असुल्नका लागि असई हुँदा बौंद्धमा नै घुमुवा बसेका सई आङकाजी शेर्पालाई उनले गणबाट तानेर सिभिल टोलीमा ल्याएका छन् ।’

त्यसो त डीएसपी राई र सई शेर्पा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सँगै बसेका थिए । अख्तियारका पूर्व सहसचिव अर्थात बर्तमान गृहससचि प्रेमकुमार राईकै कृपाका कारण बौंद्ध बृत्त पुगेका राईले रकम उठाउने गरेकोलगायतका कर्तुत यसअघि नै विभिन्न पत्रपत्रिका र अनलाइन न्यूजहरुमा पनि सार्वजनिक भइसकेको छ ।

डीएसपी राईको आचरण विपरितका क्रियाकलापका कारण प्रहरीलाई थप विवादमा ल्याउने निश्चित छ । डीएसपी राईजस्ताकै कारण प्रहरी संगठनकै बद्नाम भइरहेको छ ।

युवती राखेर वेश्याबृत्ति गर्ने विभिन्न डेढ दर्जन अखडाहरुबाट समेत हवल्दार छत्र मिश्रलाई पठाएर डिएसपी राइले रकम उठाउने गरेका छन् । उनले अहिले विभिन्न अवैध अखडाबाट रकम उठाउन सादा पोशाकमा खटाइएका सई शेर्पा र मोहन भट्ट, बडिगार्ड प्रहरी जवान हरिश जोशीलाई प्रयोग गर्न थालेका छन् ।

विभिन्न डान्स, दोहरी र डीसेफ रिर्सोटबाट उनले रकम उठाउने गरेका छन् । जोरपाटीस्थित एक रेष्टुरेष्टले मासिक २५ हजार रुपैयाँ दिन नसकेकै कारण ब्यवसाय नै बन्द गर्नुपरेको थियो । उता ६ पटकको बार्तापछि डीसेफबाट महिनाको ५० हजार रुपैयाँ भन्दा बढी रकम दिने सहमति भएको बुझिएको छ ।

राईको क्षेत्रमा पर्ने मुलपानी, गोकर्ण, सुन्दरीजल, साँखुलगायतका १९ वटा क्रसरबाट मासिक एकमुष्ट ७ लाख रुपैयाँ पोखरेल थरका क्रसर ब्यवसायीले डीएसपी राईलाई बुझाउने गरेका छन् । आफू मातहतलाई ‘एक पैसा खाएको थाहा पाए भने कारवाही गर्छु, प्रहरीबाटै शुद्धीकरण हुनुपर्छ’ भन्ने डीएसपी राईको आचरण देखेर मातहतका प्रहरी भने आश्चर्यमा परेका छन् ।

राईको आचरण देखेर हैरान बनेका प्रहरीका एक जवान भन्छन्,‘डीएसपी सा’व हामीलाई मात्र शुद्धीकरणको भाषण गर्नुहुन्छ । तर, आफूभने राति–राति अवैध काम गर्नेहरुलाई कार्यालयमै बोलाएर रकम लिनुहुन्छ ।’

राईले बौंद्ध बृत्तको कमाण्ड सम्हाल्ने वित्तिकै तिब्बतियन धार्मिक नेता कर्मापाको जन्मदिनका दिन अर्थात जुन २६ मा तिब्बतियनहरुले आयोजना गरेको कार्यक्रममा पुगेर भाषण गरेपछि विवादमा तानिएका थिए । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।