चौबिसकोठीदेखि गोलाघाटसम्मको सडक निर्माणको काम दुई वर्ष भित्र पुरा हुन्छ : मेयर दाहाल ।

चितवन , ६ असोज । चितवनको भरतपुर महानगरपालिकाकी प्रमुख मेयर रेणु दाहालले चौबिसकोठीदेखि गोलाघाटसम्मको सडक निर्माणको काम दुई वर्ष भित्र पुरा हुने बताएकी छिन् । प्रथम चनौली महोत्सव– २०७५ को उद्घाटन गर्दै चौबिसकोठी गोलाघाट सडक निर्माणको चरणमा रहेको बताउदै दुई बर्षमा पुरा हुने आश्वासन दिलाएकी हुन् । “ महानगरपालिकाले यसको एकिकृत योजनाकासाथ विकासका कार्यक्रमहरू अगाडी बढाइ रहेको छ’ प्रमुख दाहालले भनिन् । उनले भरतपुर महानगरले ढिलो–चाँडो सिटीहल र अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला बनाएरै छाड्ने प्रतिवद्धता समेत व्यक्त गरिन् । उता, मेयर दाहालले भरतपुर महानगरपालिकामा पशु बधशाला निर्माण हुने बताएकी छिन् । यसका लागि उचित जग्गाको खोजी भईरहेको समेत उनले जानकारी दिइन् । बधशाला निर्माणका लागि महानगरले बजेटको व्यवस्था गर्दै अहिले जग्गा खोजी रहेको बताइन् । पश्चिम चितवनको केन्द्र चनौली बजारमा आयोजित महोत्सव यस भेगकै पहिचान दिन सफल हुने विश्वास समेत उनले व्यक्त गरिन् । पश्चिम चितवन भरतपुर महानगरको आकर्षणको केन्द्र भएको भन्दै उनले कृषि, पर्यटन, पशुपालन, दुग्ध उत्पादन र पर्यटन विकासको प्रचुर संम्भावना भएको क्षेत्र रहेको बताएकी थिइन् ।