सवारीसाधन खरिद गर्ने उपभोक्ताहरु कर छुटको विभिन्न बहानामा ठगी गर्दै ।

चितवन , ५ असोज । सवारीसाधन खरिद गर्ने अधिकांश उपभोक्ताहरु कर छुटको विभिन्न बहानामा ठगीमा पर्ने गरेका छन् । सवारीसाधनको मूल्यमा ‘बार्गेनिङ’ चल्दा वर्षभरीको कर तिर्ने आश्वासन गाडी सोरुमले नै देखाउँछन् । तर, वर्षभरीको सवारी कर तिर्दैनन् । अस्वाभाविक मूल्य त तिर्नैपर्ने बाध्यता छ । अर्कोतिर करमा समेत लुट मौलाएको छ । ‘दोहोरो कर तिर्नुपर्‍यो ’ भन्दै दिनहुँ दर्जनौं सवारीधनी यातायात व्यवस्था सेवा कार्यालय भरतपुरमा गुनासो पोख्न आउने गरेका छन् । “सवारी कर तिरेको रसिद नलिदा यो समस्या देखिएको छ”, कार्यालयका प्रमुख देवीप्रसाद आचार्यले भने, “कम्पनीले १२ महिनाको सवारी कर तिरेको भन्ने मानसिकता सेवाग्राहीमा छ, तर त्यो असार मसान्त सम्मको मात्रै हुन्छ ।” कम्पनी तथा सोरुमले वर्षभरिकै कर तिरिदिएको सोचेर प्रायः मोटरसाईकल धनी बेलैमा कर तिर्न जाँदैनन् । “सवारी कर तिर्न बेला भएको छैन भनेर धेरै अलमलमा पर्छन्”, उनले भने, “असार मसान्त पछि पुनः कर तिर्नुपर्छ, तर दैनिक सरदर २५ जना यस्तैमा अल्मलिन्छन् । जरीवानासहित कर तिर्न बाध्य हुन्छन् ।” सवारीधनीले वर्षभरिको कर तिर्ने गरी कम्पनी तथा गाडी सोरुमकै जिम्मा लगाइदिन्छन् । तर, व्यवसायीले चलाखी गर्दै उपभोक्ता ठग्दै आउने गरेका छन् । उनका अनुसार गाडी सोरुम तथा कम्पनीलाई मौज्दातमा रहेका सवारीको ‘दामासाही’ मा कर तिर्न पाउने ऐन तथा निर्देशिकाले व्यवस्था गरिदिएको छ । यही प्रावधानलाई टेक्दै धेरै व्यवसायीले आर्थिक वर्षको अन्त्यतिर मात्रै सवारी दर्ता व्यक्तिको नाम गरिदिने गर्छन् । “व्यक्तिले कर तिर्दा वर्षभरिको तिर्नुपर्छ, तर कम्पनीलाई दामासाहीअनुसार कर तिर्ने व्यवस्था छ”, उनले भने, “जसले गर्दा आर्थिक वर्ष सकिन बाँकी महिना गणना गरेर मात्रै कर बुझाए हुन्छ ।” उनले सवारी खरिद गर्दा लिने बिलबुकसँगै कर तिरेको रसिद लिन सुझाए । “सोरुमले कर तिरेको छ, मैले किन तिर्ने भन्दै दिनहुँ गुनासा सुन्दै आएका छौँ”, उनले भने, “असार मसान्तसम्मको मात्रै क्लियर छ, म्याद अवधि पछि आएकाले जरीवाना लिनुपर्छ । यसमा धेरै सेवाग्राही आक्रोशित बन्छन् ।”

नामसारीमा धेरै त्रुटी
सवारीसाधनको स्वामित्व एक व्यक्तिबाट अर्कोमा हस्तान्तरण गर्दा वार्षिक कर अनिवार्य तिर्नुपर्छ । तर, नामसारी दस्तुर मात्रै तिरेर नामसारी भएका बिलबुक सवारीधनीले पाउँछन् । यातायात व्यवस्था कार्यालय वीरगञ्जमार्फत शाखा अधिकृतको छाप र हस्ताक्षरसहित नामसारी भई आएका बीलबुक हुन्छन् । तर, पुरानो कर नतिरेको भेटिने गरेका छन् । “कर नतिरको तर नामसारी भएका सवारी नवीकरणका लागि आउँदा हामी निकै अलमलमा पछौैँ”, प्रमुख आचार्यले भने, “वार्षिक करको अभिलेख कम्युटरमा पाइँदैन, नवीकरण गर्न मिल्दैन भन्दै दिनहुँ २÷३ जनालाई फर्काउनुपरेको छ ।” सवारी साधनले आफै नामसारी गर्न जान झन्झट मानेर गाडी सोरुम तथा रिकण्डीसन हाउसको जिम्मा लगाउने गर्दा प्रायः यस्ता समस्या आउने गरेका छन् । “पहिल्यैको कर तिर्न बाँकी भएका नामसारीका बीलबुक भेटिन थालेका छन्”, उनले भने, “यी त्रुटिपूर्ण छन् । हामीले यहाँ मिलाउन सक्दैनौँ । वीरगञ्ज नै पठाउने गरेका छौँ ।” सवारी कर तिरेको रसिद लिन हेलचक्रयाई गर्दा सवारीधनी बेलाबखत समस्यामा पर्ने गरेको उनी बताउँछन् ।

यस्तो छ, कर तथा नवीकरण शुल्क १
मोटरसाईलको २ हजार ७ सय ५० देखि १६ हजार ५ सय रुपैयाँ कर र १ सय रुपैयाँ नवीकरण शुल्क वर्सेनी बुझाउनुपर्छ । यस्त निजी प्रयोजनका लागी कार, जीप, भ्यान, माइक्रोबसको २० हजार ९ सय देखि ५८ हजार ३ सयसम्म र यिनै सवारी भाडा प्रयोजनका लागि भएमा ८ हजार ८ सय देखि १६ हजार ५ सय रुपैयाँ वार्षिक कर तिर्नुपर्छ । यस्तै, डोजर, लोडर, रोलर, ट्रिपर, एक्जाभेटरको ५० हजार, मिनिटिपरको १५ हजार ४ सय देखि २७ हजार ५ सय रुपैयाँ वार्षिक कर तिर्नुपर्छ । अटो, टेम्पो, थ्री ह्विलरको ४ हजार ४ सय देखि ५ हजार ५ सय रुपैयाँ कर तिर्नुपर्छ । बस, ट्रकको १७ हजार ६ सयदेखि ३३ हजार रुपैयाँ कर वर्षेनी तिर्नुपर्छ । ठुला सवारी नवीकरण गर्दा ५ सय देखि ८ सय, मझौलाको ३ सय देखि ५ सय र साना सवारीको २ सय देखि ३ सय रुपैयाँ शुल्क तिर्नुपर्छ ।