फोहोर व्यवस्थापन नगर्दा स्थानीय दुर्गन्ध सहेर बस्न बाध्य


। चितवन , १० भाद्र । अविनाश फार्म प्रालिले फोहोर व्यवस्थापन नगर्दा त्यस वरपरका स्थानीय दुर्गन्ध सहेर बस्न बाध्य भएका छन् । भरतपुर १८, गाँजीपुरमा करिब ७ वर्षअघि सञ्चालनमा आएको उक्त फार्मबाट निस्कने कुखुराको सुलीको गन्धले ४ किलोमिटर वरिपरिसम्म दुर्गन्ध फैलिएको स्थानीयको भनाइ छ । समस्या समाधानबारे पटकपटक प्रशासनलाई झकझक्याउँदा पनि आश्वासनमात्रै पाएको भन्दै जिल्ला प्रशासन कार्यालय चितवनका कर्मचारीसमक्ष उनीहरुले गुनासो गरेका थिए । स्थानीयबाट धेरै नै गुनासो आएपछि वास्तविकता बुझ्न पुगेका जिल्ला प्रशासन, साविकको जिल्ला पशुसेवा कार्यालय, खाद्य निरीक्षक, पत्रकार, उपभोक्ता अधिकार संरक्षण मञ्चलगायतको टोलीसमक्ष स्थानीयले भने, ‘हामीले यहाँको फोहोर व्यवस्थापन गरेर वातावरण प्रदूषण कम गराउन पटकपटक भन्यौँ, तर अहिलेसम्म सुनुवाइ भएन । उद्योग व्यवसाय सञ्चालनका नाममा बस्ती नै विस्थापित हुनुपर्ने अवस्थामा आइपुग्दासमेत जिल्ला प्रशासन रमिते भएर बसेको भन्दै स्थानीय सुनिता गुरूङले भनिन्, ‘कुखुराको सुलीको गन्धले साँझ–बिहान खाना खानसमेत समस्या भएको छ । गाउँमा विवाह भोज लगाउन सक्ने अवस्था छैन । घरमा आएका पाहुना पनि बेलुका बस्न मान्दैनन् ।’ २०७२ सालमा नै फार्मका सञ्चालक गुणचन्द्र विष्टलाई जिल्ला प्रशासन कार्यालयमा बोलाएर फोहोर व्यवस्थापन गरिदिन आग्रह गरिए पनि हालसम्म समस्या समाधान नगरेको स्थानीयको भनाइ छ । ‘त्यतिबेला सञ्चालक विष्टले ६ महिनाभित्र फोहोर व्यवस्थापन गर्ने भनेर आश्वासन दिए पनि अहिलेसम्म व्यवस्थापन गर्न सक्नुभएन’, अर्का स्थानीय कृष्णकुमार श्रेष्ठले भने, ‘६ महिनाभित्र फोहोर व्यवस्थापन गर्छु भनेर आश्वासनमात्रै पायौँ ।’ उक्त फार्मबाट निस्कने सुली र मरेको कुखुराको गन्ध र रसान (मलको रस) ले वरिपरिका खेतबारीमा बाली लगाउनसमेत पाएका छैनन् । फार्मको उत्तरतर्फ भने चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र पर्ने हुँदा जंगली जनावरलाई समेत प्रत्यक्ष असर पु¥याएको स्थानीय श्रेष्ठले बताए । ‘यही घोलमा दैनिक ३–४ वटा गैँडा देखिइरहन्थ्यो’, उनले भने, ‘आजभोलि यही फोहोरको गन्धले देखिनै छाड्यो ।’ मानवबस्तीसँगै निकुञ्जआसपासका जंगलमा बस्ने दुर्लभ वन्यजन्तुलाई समेत प्रत्यक्ष असर पुगेको हुँदा यसबारे सरकारले सोच्नैपर्ने उनले बताए । वडा सदस्य जीत बहादुर तामाङका अनुसार वडा नं १७, १८ र २६ बढी प्रभावित भएका छन् । तीमध्ये सबैभन्दा नजिकमा पर्ने गाँजीपुर टोल विकास संस्था, भुवनबस्ती र सिमरी टाउन बढी प्रभावित भएकोे उनले बताए । उक्त फार्म भएको ठाउँबाट ४ किलोमिटर वरिपरि दुर्गन्ध फैलिएको उनको भनाइ छ । ‘दुई लाख कुखुराको क्षमता भएको उक्त फार्मबाट दैनिक ६–७ ट्रयाक्टर सुली बाहिर निस्कन्छ’, उनले भने । उपभोक्ता अधिकार संरक्षण मञ्च चितवनका उपाध्यक्ष विष्णुप्रसाद भुसालले व्यवसाय गर्ने नाममा मानव स्वास्थ्यमाथि खेलबाड गर्न नहुने बताए । ‘व्यवसायको नाममा समुदायलाई असर पु¥याउन कसैले पनि पाउँदैन’, उनले भने ।

फार्म सञ्चालकलाई प्रशासनको पत्र
यता , अविनाश फार्म प्रालिबाट निस्किएको दुर्गन्धले मानवबस्ती नै हट्नुपर्ने स्थितिमा आइपुगेको भन्दै जिल्ला प्रशासन कार्यालय चितवनले फर्मका सञ्चालकलाई पत्र काटेको छ । ‘यो समस्या नयाँ समस्या होइन’, प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बहादुर बस्नेतले भने, ‘फोहोर व्यवस्थापनको विकल्प नभए फार्म बन्द हुन पनि सक्छ ।’ यसबारे सञ्चालकसँग बसेर छलफल गरी काम अगाडि बढाउने उनले बताए ।