विद्यालयलाई कम्प्युटर सामग्री प्रदान

समाचार प्रभाव

नवलपुर, २६ साउन / नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लाको मध्यबिन्दु नगरपालिका वडा नम्बर ३ मा रहेको ब्रम्ह प्राथमिक विद्यालयलाई कम्प्युटरलगायतका सामग्री प्रदान गरिएको छ ।
चितवनको नारायणगढमा रहेको सत्य साई केन्द्र युवा समूहले विशेष सहयोग कार्यक्रम गर्दै शनिबार विद्यालयलाई कम्प्युटर तथा स्टेशनरी सामग्री प्रदान गरेको हो । विद्यालयमा कम्प्युटरलगायतका सामग्री अभाव भएको भन्ने बारेमा विभिन्न सञ्चार माध्यममा केही दिन अगाडि समाचार प्रशारण तथा प्रकाशन भएको थियो । विद्यालयको बारेमा आएका समाचार पढेर चितवनका युवाहरुले दुई थान कम्प्युटरका साथै स्टेनशरी सामग्री प्रदान गरेको बताएका छन् ।
सहयोग हस्तान्तरण कार्यक्रममा विद्यालयका प्रधानाध्यापक पूर्णबहादुर केसीले युवाहरुले विद्यालयलाई शैक्षिक सामग्री प्रदान गर्नु सकारात्मक काम भएको बताउनुभयो । विद्यार्थीहरुलाई प्रविधिसँग जोड्नका लागि सहयोग पु¥याएको र विद्यालयले पाएको कम्प्युटरलाई सहि रुपमा सदुपयोग गरिने केसीको भनाइ थियो । विपन्न समुदायका विद्यार्थी पढ्ने विद्यालय आर्थिक रुपमा कमजोर भएकाले कम्प्युटर किनेर अध्यापन गराउनु आफूहरुको पहुँच भन्दा बाहिरको विषय भएको केसीले बताउनुभयो ।
साई केन्द्रका युवाहरुले गरेको सामाजिक तथा शैक्षिक कामको अन्य युवहरुले समेत अनुशरण गर्नुपर्नेमा केसीले जोड दिनुभयो ।
विशेष सहयोग कार्यक्रममा सत्य साई युवा समूहकी संयोजक निकिता श्रेष्ठले आफूहरुले खाजा खाने खर्च कटाएर जम्मा गरेको पैसाले कम्प्युटर लगायतका सामग्री विद्यालयलाई प्रदान गरेको बताउनुभयो । विद्यालय तहमा कम्प्युटर शिक्षा अनिवार्य जस्तै भएकाले आफूहरुले विद्यार्थीहरुले नयाँ कुरा जानुन् भन्ने उद्देश्यले सहयोग गरेको श्रेष्ठको भनाइ छ ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मंगुराम बोटे, वडा नम्बर ३ का सदस्य छवि नेपाललगायतले विभिन्न दाताहरुको सहयोगले विद्यालय सञ्चालन भइरहेको बताउनुभयो । साई केन्द्रकी उपाध्यक्ष शान्ता उपाध्यायले ब्रम्ह प्राथमिक विद्यालय आगामी दिनहरुमा समेत सहयोग गरिने बताउनुभएको छ ।