चितवनको भरतपुरबाट फेरी ठुलो परिमाणमा लागु औषध सहित पाँच जना पक्राउ

चितवन÷ २०७५ श्रावण २६  / चितवन प्रहरीले पछिल्ला दिनमा लागुऔषधका एकपछि अर्को ठुला कारोबारीलाई पक्राउ गर्न सफल भएको छ । गत केही दिनअघि मात्र भरतपुर २ क्षेत्रपुरबाट ठुलो परिमाणमा लागु औषध सहित एकजनालाई पक्रिएको प्रहरीले फेरी ठुलो परिमाणमा लागु औषध सहित पाँच जनालाई पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय नारायणगढबाट खटिएको प्रहरी गस्ती टोलीले भरतपुर ३ न्यूरोडमा चेकजाँचको क्रममा ती लागुऔषध कारोबारीहरुलाई पक्राउ गरेको हो । प्रहरीले मोटरसाईकिल चेकिङ्ग गर्ने क्रममा लागू औषध कारोबारीमा सम्लग्न गैडाकोट १ नवलपरासीका बर्ष २४ का किरण जिसी र भरतपुर ३ का बुद्धि गुरुङ पक्राउ परेका हुन् । उनिहरुसहित बयानको क्रममा सोधपुछ हुँदा बरामद लागु औषधको ओसारपसार, संचय, बिक्रिबितरण तथा सेववनमा भरतपुर ७ कृष्णपुरका २१ बर्षिय लालकृष्ण ढकाल,भरतपुर २ क्षेत्रपुरका २६ बर्षिय सलिम मिया र खैरहनी नगरपालिका १ ज्यामिरेका १९ बर्षिय अमृत आचार्यसमेत संलग्नता रहेको भन्ने खुल्न आएको हुँदा उनीहरुलाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरिक्षक शुसिल सिंह राठौरले जानकारी दिए । उनिहरुको साथवाट १ सय १५ एम्पुल डाइजेपाम,१ सय १५ एम्पुल ब्युप्रिनर्फिन, १ सय १५ एम्पुल फेनारगन, १५ सय ४५ ट्यावलेट नाइट्राजेपाम, ४८ क्याप्सुल स्पास्मो प्रोक्सिभन, ११ बोतल फेन्सिडिल र ४ बोतल वाइरफसेरफ बरामद गरिएको प्रहरी उपरिक्षक राठौरले बताए । ना २४ प ११०० नम्बरको मोटरसाइकलमा सवार जिसी र गुरुङलाई चेकजाँचका क्रममा लागु औषध सहित पक्राउ गरेको प्रहरी उपरिक्षक राठौरले जानकारी दिए ।

उनिहरुले भारतबाट लागुऔषध ल्याएर चितवनमा बेच्ने गरेको अनुसन्धानबाट खुल्न आएको राठौरले बताए । पक्राउ परेकालाई लागु औषध नियन्त्रण ऐन २०३३ अन्तर्गत मुद्धा दर्ता गरी अनुसन्धान प्रकृया अघि वढाइएको जिल्ला प्रहरी कार्यलय चितवनका प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रभु ढकालले जानकारी दिए ।